काठमाडौं, ६ माघ । तराईका जिल्लामा पेसेवर रूपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ ।
केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो ।
प्रहरीको रणनीतिक कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ नयाँ पत्रिकामा खबर छ। एकजनाको मृत्यु र दुई घाइते भएका छन् । सिरहा र बाँकेमा दुईजनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रूपन्देहीमा एकको ज्यान गएको छ ।
शुक्रबार सिरहामा एक हतियार कारोबारीलाई गोली प्रहार गरी घाइते बनाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
जिल्लाको सुकसैनामा उनलाई पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाइएको र उनको खुट्टामा चोट लागेको सिरहाका एसपी जीवनकुमार श्रेष्ठले बताए । उनी भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनीसँग एउटा पिस्तोलसमेत बरामद भएको छ ।
२ माघमा बाँकेको कोहलपुरमा पनि प्रहरीले एक फरार अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । केही दिनअघि दीपक सिंहको घाँटी रेटी हत्या गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ ।











