७७ बर्षकी सासुलाई कसरी पालु ? २ बर्षकी अबोध बालकलाई कसरी हुर्काउ ?
केशरमान बुढाथोकी
गत पुस २ गते भूमे गाउँपालिका ६ महत घरभइ घोराही १३ डुम्बर गाउँमा अस्थायी बसोबास गरि प्राध्यापन पेशामा लागेका २८ बर्षीय नरेश ओलीले आफ्नी ७६ बर्षिया बृद्ध आमालाई रुकुम फोन गरे । उनको भनाइ थियो – आमा अब सबितालाई दाङ पठाइदिनुस मैले थप २ वटा कलेजमा जागिर पाए अब त पाल्न सक्छु कि जस्तो लाग्छ । अनि बुढि आमाको उत्तर पढ्दा खेरि लाएको ऋण कसरी तिर्छस त बाबु रु अझै केहि मिहनेत गर । होइन आमा मैले दिनभर पढाउछु खाना पकाउने पनि समय हुन्न अब पठाइदिनुस बरु अर्को साल तिर तपाइँ पनि यतै आउने है ।
धेरै पढेलेखेको छोराले यति भनेपछि आमाले पनि जिद्दी गर्ने कुरा भएन । भन्नु भयो हुन्छ मैले पठाइदिन्छ् तर म बुढीलाई पो यहाँ कसले चुलो बाल्दिन्छ रु दाइको घरमा बस्नुस केहि समय अनि अर्को साल त मैले यहि बोलाउछु हजुरलाइ पनि । बुढी आमाले जेनतेन चित्त बुझाइन अनि बिहिबार बिहानै सरजाम पोको पारेर दाङका लागि २ बर्षकी नातिनी सहित बुहारी लाइ पठाइन ।

सबिता छोरीलाइ काखी च्यापेर घरबाट दाङ झरिन बिहिबार साँझ अबेर मात्र दाङ पुगिन । नरेशले श्रीमती र छोरीलाई आफु बस्ने कोठामा लागे साँझ एकैछिन भलाकुसारी गरे अनि भोलि बिहानै कलेजका बिद्यार्थीहरुलाई लगेर प्राक्टिकलकालागि सल्यान जानु छ । भनेर सुतिहाले बिहानै उठेर भने म अहिले हिडे साँझ छिट्टै आउछु है ।
नरेशका लागि आफ्ना प्यारी श्रीमती र सानी छोरी संग बोलेका तिनै शब्द अन्तिम बने – सल्यानको कपुरकोट र मुलपानीमा गएर फर्कदै गर्दा आफु सवार शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको बस दाङको राम्रीमा भयानक दुर्घटनामा पर्यो अनि उनि लगाएत एक जना आफ्ना सहकर्मी र १९ जना बिद्यार्थीले ज्यान गुमाए । यो गहिरो पीडा सविताकालागि जीवनको सबैभन्दा अकल्पनीय पीडा बन्यो ।

पढाइमा सधै अब्बल दुर पहाडको गरीब परिवारमा जन्मेका नरेश एक छाक खाना र एक छाक भोकै भएर पनि स्नातकोतर सम्मको पढाइ पुरा गरे । यति सम्म पढ्दा उनलाई तमाम ऋण लाग्यो । स्नातक तह पढ्दा उनले एउटा पाइन्ट ३ बर्ष लगाएर पढे भन्छन उनका गुरुहरु । पढाइमा निकै अब्बल आर्थिक रुपमा मितव्ययी साथीहरुका प्यारा मान्छे नरेश यति छिट्टै भगवानका प्यारा बन्लान भन्ने कसलाई के थाहा रु तर दुख सुख गरेर यति धेरै पढेका नरेशको अब दुखका दिन गए भन्दै सुन्दर भविष्यको कल्पना गर्दै गर्दा उनको सुखको स्वाद न त ७६ बर्षिया बृद्ध आमाले चाख्न पाइन् न १९ बर्षिया श्रीमती न त २ बर्षिया अबोध छोरी ले नै ।
दुर पहाड रुकुमको भूमे ६ महतको गरिव परिवारमा जन्मेको एउटा बालकले पछी ठुलो भएर वन विज्ञानमा स्नातकोत्तर गर्ला भनेर कसले पो सोचेको हुदोहो र रु त्यसो त आफु सानै हुँदा घरका कमाउने अभिभाबक बुवाको निधन भएकाले आर्थिक अभाव उनको जीवनको सारथी नै थियो । अनि पैसा बिना कुनै कुराको कल्पना नै गर्न नसकिने यो अबस्थामा गरिव परिवारको टुहुरो बालकले भोलि आफ्नो अभिष्ट पुरा गर्न सक्ला भन्ने कसैले सोचेकै थिएनन् । समस्याको बीचबाटै आधा पेट खेर एकसरो लाएर भएपनि उनले बन बिज्ञानमा प्रथम श्रेणीमा स्नातकोतर गरेरै छाडे ।

यिनै मेधावि नरेशको जब दुख सकिएर सुखको कल्पना गर्न थालिएको थियो २८ बर्षकै कलिलो उमेरमा उनी यो संसारबाट अस्ताउनुपर्यो । स्नातकोत्तरपछि अध्यापन गर्न बाग्लुङ पुगेका नरेश महेन्द्र बहुमुखी क्याम्पस दाङमा शिक्षण अवसर पाएसँगै दाङ आएका थिए । झन्डै ८ महिना अघि दाङको जेठो सरकारी क्याम्पसमा अध्यापनको अवसर पाएपछि दाङ झरेका नरेशले दीपशिखा कलेज , बिद्या निलकण्ठ कलेज, संजीवनी कलेज हुँदै पछिल्लो समय सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा प्रवेश गरेका थिए । यही कलेज नै उनको अन्तिम अध्यापन यात्रा बन्यो ।

बुबा रुदल ओली र आमा रोजन ओलीका पाँच भाइ छोरा मध्ये कान्छा थिए नरेश । परिवार आर्थिकरुपमा निकै कमजोर भएकाले उनले निकै अभावका बीच संघर्ष गर्दै पढ्नु परेको उनका माइला दाजु सरक बहादुर ओली बताउछन । गाउँ कै जनता मावि महतबाट एसएलसी उतिर्ण गरेका नरेशले दाङको पद्योदयबाट १२, महेन्द्र बहुमुखी क्याम्पसबाट बीएससी गरेका थिए भने त्रिबि किर्तिपुरबाट एमएससी गरेका थिए ।
यति धेरै पढेको छोराले अब बुढेश कालमा सहारा देला भन्दा आफु पढ्दा खेरी लगाएको झन्डै १० लाख रुपैयाँ ऋणको भारी बोकाएर गयो भन्दै भक्कानिन्छिन नरेशकी बृद्ध आमा । यस्तै पीडामा छिन उनकी १९ बर्षिया श्रीमती सविता । यो गहिरो पीडा व्यक्त गर्ने केहि शब्द छैन उनीसंग छात्ती पत्थर झैँ जब्बर भएको छ । अब उनलाई यत्ति पीडा छ ७७ बर्षकी सासु लाई कसरी पालु रु २ बर्षकी अबोध बालकलाई कसरी हुर्काउ ?











