काठमाडौं, ७ भदौ । नेपाल एअरलाइन्सले पछिल्लोपटक खरिद गरेका ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ ।
जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो । अन्नपूर्णमा खबर छ- निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा प्रश्न उठेपछि अख्तियारले छानबिनका लागि फाइल झिकाएको हो ।
यी दुईवटा ‘वाइडबडी’ जहाजको बिक्रीपश्चातको मर्मत सेवा तथा पार्टपूर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालिम, प्राविधिक सहयोग र वारेन्टी जस्ता पक्षलाई ध्यान नदिइ बिचौलिया आपूर्तिकर्तामार्फत् एयरबस कम्पनीका विमान खरिद गर्ने कार्य संदेहास्पद देखिएको भन्दै अन्नपूर्णमा समाचार प्रकाशित भएको थियो ।
अख्तियार प्रवक्ता रामेश्वर दंगालले जहाज खरिद प्रकरणमा आवश्यक छानबिनका लागि सम्बन्धित निकायबाट खरिदसम्बन्धी कागजात र फाइल झिकाउन परिपत्र गरिएको जानकारी दिए ।











