चितवन, १३ असार । यस वर्षको वर्षात भरखरै शुरुभएको छ । वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेको छ । यसरी निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ ।
सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । पश्चिम नेपालबाट काठमाडौँ आउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जान सक्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।
बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दूरी १ सय ५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी २ सय ३३ किलोमिटर पर्छ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उनको सुझाव छ । करीब एक घण्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ ।
त्यसैगरी, पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दूरी पर्छ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दूरी पर्ने खनालले बताए । यो दूरी ४१ किलोमिटरमात्रै बढी हो । जुन एक घण्टाको थप यात्राले सहज पार गर्न सकिन्छ ।
तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा १ सय १५ किलोमिटरमात्रै पर्छ । हेटौँडा– नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २ सय १८ किलोमिटर पर्छ । यो सडक प्रयोग गरेमा १ सय ३ किलोमिटर दूरी कम हुन्छ । वैकल्पिक मार्ग प्रयोग गर्न सकिएमा यतिबेलाको जोखिममा कमी आउने आयोजनाका प्रमुख रोहितकुमार विसुरालले बताए ।
राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिँदैन । जसका कारण घण्टौँ सडकमा खतरा व्यहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनु परेको छ । नारायणगढबाट मुग्लिनसम्मको दूरी ३६ घण्टाको समय लाग्ने गर्छ । तर पहिरोका कारण सडक अवरुद्ध हुँदा लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था छ ।











