बर्दिवास, ३ असार । महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेका छन् । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेका हुन् ।

snekबर्दिवास गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका अनुसार जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकाका छन् । सर्पको टोकाइबाट बर्दिवास–१ की एक चार वर्षीया बालिकाको मृत्यु भएको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष कृष्ण देवकोटाले बताए ।

सर्प र बिच्छीको खानी नै रहेको भनिने बर्दिवास क्षेत्रमा सर्पदंशका घटनाले मानवीय क्षति बढ्दै गएपछि गौरीडाँडामै रहेको नेपाली सेनाको गुल्मले छजना सर्पदंशको उपचार गर्ने दक्ष जनशक्ति उपलब्ध गराएपछि स्थानीय समुदायको पहलमा २०७१ साल साउन ३१ गते उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो ।

स्थापनाकालदेखि हालसम्म ९५० जनाले उपचार लिएकामा २५ जनालाई मात्र अन्यत्र सिफारिस गर्नुपरेको र ९२५ जना भने उपचारपछि स्वस्थ भएर घर फर्केका उनले बताए । उपचार केन्द्रको अभिलेखअनुसार चालू आर्थिक वर्षको गत साउनदेखि जेठ मसान्तसम्म २३२ सर्पदंशका बिरामीले उपचार लिएका छन् । त्यसैगरी आव २०७३÷७४ मा २७३, आव २०७२÷७३ मा २७० र आव २०७१÷७२ मा १६५ जनाले उपचार लिएका थिए ।

उपचार केन्द्रमा एण्टी स्नेक भाइल राखिए पनि स–साना नानीहरु र स्वास्थ्यका कारण कमजोर रहेकाहरुको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरको व्यवस्था नहुँदा त्यस्ता बिरामीलाई सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ । त्यस्तै सिफारिस गरिएकामध्येबाटै कतिपय बिरामीको मृत्यु भएको अध्यक्ष देवकोटाले बताए ।

जिल्लाको उत्तरी क्षेत्रको यो अवस्थासँगै सुदूर दक्षिणी भेगमा पनि सर्पदंशका घटना बढ्दै गएका छन् । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजिव झाले जेठ लागेयता १०भन्दा बढी सर्पदंशका बिरामीले उपचार लिएका जानकारी दिए । जिल्लामा गर्मी शुरु भएपछि भने गोमन र करेत जातका विषालु सर्प र ढोडिया, हरहरालगायतका विष नलाग्ने सर्प छ्यापछ्याप्ती देखिने गरेका छन् ।