इन्द्रेणी संवाददाता
दाङ, २२ माघ । दाङको घोराही उपमहानगरपालिका नगर क्षेत्रका अटो रिक्सा र टेम्पो व्यवस्थापनमा जुटेको छ । नगर क्षेत्रमा सञ्चालन भएका अटो रिक्सा र टेम्पोको तथ्याङ संकलन गरी दर्ता गर्ने र रुट निर्धारण र भाडामा एकरुपता समेत ल्याउने नगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले आइतबार मात्रै बजार क्षेत्रका वडा अध्यक्ष तथा ट्राफिक प्रहरीका प्रमुखसँग छलफल गरी बजार क्षेत्रका सडकमा टेम्पो र अटो रिक्साहरुलाई सञ्चालन गर्न नदिने र रुट निर्धारण गर्ने निर्णय गरेको छ ।
नगरका कार्यबहाक प्रमुख सीता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले एक साताभित्र घोराही बजारका टेम्पो तथा अटो व्यवसायीहरुलाई इच्छाएको रुटसहित आबेदन संकलन गर्ने, भाडामा सुहाउदो एकरुपता ल्याउने, यात्रु मात्रै बोक्ने र अन्य निर्माण सामग्रीहरु बोके ट्राफिक नियम अनुसार कार्वाही गर्ने निर्णय समेत गरेको छ । टेम्पो तथा अटो रिक्साहरु सञ्चालनका लागि अंकमा आधारित रुट तोकिने छ ।
विद्युत कार्यालयको दक्षिण तर्फ, बालमन्दीर, रझेना चोक, आर्मी व्यारेक, मितेरी अस्पताल, सडक बिभागको ओरालो, जनस्वास्थ्य कार्यालय देखी केही तल र डिके पेट्रोल पम्प नजिकै टेम्पो र अटो रिक्साहरुको स्टेशन राख्ने निर्णय भएको छ । घोराही बजारमा करिब ५ सयभन्दा बढी टेम्पो तथा अटो रिक्साहरु सञ्चालनमा रहेका छन् ।











