इन्द्रेणी संवाददाता
हेटौंडा, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आज बिहीबार अस्थायी राजधानी हेटौंडामा बस्दैछ । अधिवेशनका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

pr 3प्रदेशसभाको पहिलो अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालय भवनको अधिवेशन कक्षदेखि मूल गेटसम्म सजाइएको छ । अधिवेशन स्थल वरपरसम्म सरसफाइ गरिएको छ भने अधिवेशन कक्षमा रंगरोगन गरिएको छ । तर सरसफाइ र सजावटको काम साँझसम्म भइरहेको छ ।

पहिलो अधिवेशनको तयारी पूरा भएको प्रदेशसभा सञ्चालनको जिम्मा संघीय संसद्का सहसचिव डा. रोजनाथ पाण्डेलाई दिइएको छ । दिउँसो १ बजेदेखि सञ्चालन हुने अधिवेशनमा २० जना सञ्चारकर्मीलाई मात्र अधिवेशन कक्षमा प्रवेश दिइने सचिवालयले जनाएको छ ।

अधिवेशनमा प्रदेश प्रमुखले संसद् अधिवेशनका लागि आह्वान गरेको पत्र पढ्ने, प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्ने र प्रदेश सभामुख निर्वाचनको मिति घोषणा गर्नेलगायतका एजेन्डा छन् ।