घोराही, १३ माघ । घोराही उपमहानगरपालिकाले कार्य सम्पदानका लागि बिभिन्न कार्यबिधीहरु निर्माणलाई जारी राखेको छ । उपमहानगरको कार्यपालिका बैठकले टोल विकास संस्था संचालन कार्यविधि २०७४ र बजार व्यवस्थापन कार्यविधि २०७४ माथि छलफल गरि पारित गरेको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका विभिन्न विषयगत महाशाखा र शाखाबाट सम्पादन हुने कामहरुलाई विधि सम्मत सम्पादन गर्न कानुन मस्यौदा निर्माण समिति गठन गरेको छ । नगर प्रमखु संयोजक र उपप्रमुख, विधयक समितिका संयोजक, प्रमूख प्रशासकीय अधिकृत सदस्य रहेको कानुन मस्यौदा निर्माण समिति गठन भएको हो ।
घोराही उपमहानगरपालिकाको दोश्रो हिउँदे नगर सभा आगामी फागुन १५ गते गर्ने निर्णय भएको छ । त्यसैगरी, बैठकले नारायणपुर उद्योग बाणिज्य संघलाई व्यापारिक, कृषि तथा पर्यटन महोत्सव संचालनका लागि विशेष प्रायोजक हुने गरि ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाबाट सम्पादित हुने कामकारवाहीलाई अझ बढि सरल र प्रभावकारी बनाउन सम्वन्धित सूचनाहरु डिजिटल प्रणाली मार्फत आम नगरवासीहरुमा पु¥याउन उपमहानगरपालिकाको बढी जनसम्पर्क रहने बजार क्षेत्रको उपयुक्त स्थानमा डिजिटल सूचना पाटी राख्ने पनि निर्णय भएको छ ।
त्यसैगरी, उपमहानगरपालिकाबाट संचालन हुने कामकारवाहीहरुलाई आम नगरवासीहरुमा सुसूचित गर्ने र काम कारवाहीसंग सम्वन्धित नगरवासीको सल्लाह, सुझाव र गुनासोहरुलाई सम्बोधन गर्न उपमहानगरपालिका भित्र टोल फ्री नम्बर राख्ने निर्णय समेत भएको प्रबक्ता भरत अर्यालले जानकारी दिए । बैठकले यही माघ १५ गते उपमहानगरको स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ ।











