काठमाडौँ, २२ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली वाङ्मयका दस विशिष्ट प्रतिभाहरूलाई जनही एक लाख नगदसहित ‘प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो ।
प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा आगामी २०७४ जेठ ६, ७ र ८ गते राजधानीमा आयोजना गर्ने बृहत् राष्ट्रिय वाङ्मय गोष्ठीका अवसरमा नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध विधामा विशिष्ट योगदान पु¥याउने विशिष्ट प्रतिभा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
कुपति उप्रेतीले भने, “यसका साथै प्रतिष्ठानले सो अवसरमा ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘साठी वर्षका भाषिक चर्चा’, ‘मैथिली–नेपाली–अङ्ग्रेजी शब्दकोश’, ‘तामाङ व्याकरण’ लगायत करिब तीन दर्जन महत्वपूर्ण ग्रन्थ–पुस्तकहरूको प्रकाशन गर्र्नेछ ।”
उपकुलपति डा. विष्णुविभु घिमिरेले २०७३ असार ९ गतेदेखि प्रतिष्ठान हीरक वर्षमा प्रवेश गरेको र सो उपलक्ष्यमा त्यसयता देशभरि राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका गोष्ठी तथा समारोहहरूको आयोजना भइरहेको सुनाए । उनले भने, “आगामी असार ९ गते राजधानीमा आयोजना हुने वार्षिक उत्सवसँगै यो हीरक महोत्सव समापन हुनेछ ।”
सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीका अनुसार यसै आर्थिक वर्षभित्र प्रतिष्ठानले नवनिर्मित पुस्तकालय भवनमा ई–पुस्तकालय सञ्चालनको तयारी गरेको छ ।











