सुनसरी, १ असोज । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको नाउ (डुंगा) राजावासा ५ सप्तकोशी नदीमा आज दिउसो साढे १२ बजे पल्टिएको छ । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त नाउमा सवार ३७ जना यात्रुको सकुशल उद्दार गरिएको छ ।
शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् । श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि ढ्याउ (भंगालो) मा पसेको थियो ।
यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने नेपाल प्रहरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । डुगामा करीव ६० यात्रु सवार रहेको अनुमान गरिएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको पोखरेलले बताए । वेपत्ताको खोजी कार्य जारी रहेपनि अविरल वर्षातका कारण खोजीकार्यमा समस्या देखिएको छ ।











