केशरमान बुढाथोकी

आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सहरका पाँचतारे होटेलहरूमा भव्य कार्यक्रम आयोजना हुँदैछन् । सभा हलहरू फूलमाला, बेलुन, र आकर्षक ब्यानरले सजिएका छन्। मंचमा बसेका व्यक्तिहरूले महिलाको सशक्तीकरणबारे जोशीला भाषण दिइरहेका छन् । कुनै एनजिओ–आईएनजिओको वार्षिक कार्यतालिकाअनुसार छुट्याइएको बजेटबाट यी कार्यक्रम भइरहेका छन्।

तर, दुर्गम गाउँमा बसेकी ती महिला जसले बिहान बेलुकीको छाक टार्न दिनभर खेतबारी जोत्नुपर्छ, उनीहरूलाई नारी दिवसबारे कुनै जानकारी छैन। नारी दिवसको महत्त्व मात्र होइन, यसको अस्तित्वबारे समेत बेखबर छन्।

नारी सशक्तीकरणको नारामात्रै, वास्तविकता के ?

महिलाहरूलाई दोस्रो दर्जाको नागरिक ठान्ने मानसिकता हटाउन र समान हक अधिकारको सुनिश्चितता दिन संयुक्त राष्ट्रसंघले सन् १९७५ देखि नारी दिवसको सुरुवात गर्यो। विश्वका महिलाहरूलाई समान अधिकार दिलाउने उद्देश्यसहित सुरु गरिएको यो दिवस अझैसम्म गरिबीको रेखामुनि रहेका महिलासम्म पुग्न सकेको छैन।

सन् १९०९ देखि मनाउन थालिएको नारी दिवस १९१४ देखि मार्च ८ का दिन निश्चित भयो। नारी दिवसको मर्म बुझेर विश्वका विभिन्न देशहरूले महिलालाई मताधिकार प्रदान गरे। नेपालमा भने प्रजातन्त्रपछि मात्र महिलाहरूलाई मताधिकारको सुनिश्चितता गरियो।

तर, नेपालका सुदूर गाउँमा श्रम बेचेर बाँचिरहेका महिलाहरूको अवस्था हेरौं। उनीहरूका लागि नारी दिवस कुनै विशेष दिन होइन, बरु जीविकोपार्जनका लागि झनै संघर्ष गर्नुपर्ने दिन हो। समान ज्याला, श्रमको उचित मूल्याङ्कन, हिंसाविरुद्धको संरक्षणजस्ता मुद्दा केवल ठूला सभा समारोहका भाषणमै सीमित छन्।

तारे होटेलमा भाषण, खेतमा पसिना !

नेपालका सहरमा पछिल्लो समय नारी दिवसको चर्चा व्यापक छ। ठूला सभा, र्याली, गोष्ठी, सम्मान कार्यक्रमजस्ता गतिविधिहरू देखिन्छन्। महिलाका नाममा काम गर्ने संस्थाहरू बजेटको व्यवस्थापन गर्छन्।

तर, ती संस्थाका पहुँचभन्दा बाहिर रहेका महिलाहरूलाई नारी दिवस मनाउने फुर्सद छैन। बिहानदेखि बेलुका श्रम गर्नुपर्ने बाध्यता, शिक्षाको अभाव, सीपको सीमितता, हिंसाको त्रास, सामाजिक विभेद—यी सबै कुराले उनीहरूको जीवन कष्टकर बनाइरहेको छ।

अधिकारका लागि लड्ने महिलाहरूको संघर्षबाट सुरु भएको नारी दिवस अहिले उत्सवमात्रै बनेको छ। यो दिन नारी सशक्तीकरणको नाममा होटेलका भित्तामा पोस्टर टाँस्ने, स्टेजमा ओठे गफ दिने, फोटो खिच्ने, र सामाजिक सञ्जालमा पोस्ट गर्ने माध्यम बनेको छ। तर, नारी दिवसको वास्तविक लक्ष्य श्रमिक महिलाहरूको जीवनमा कुनै परिवर्तन ल्याउन सकिरहेको छैन।

के नारी दिवसको औचित्य केवल देखावटी उत्सव हो ?

हिजो आफ्ना अधिकारका लागि उठेका करोडौं महिलाका मुठ्ठीहरू समानता, न्याय र स्वतन्त्रताको पक्षमा उठेका थिए। तिनै संघर्षका कारण आज हामी नारी दिवस मनाइरहेका छौं। तर, आजको दिन पनि कतिपय महिला श्रम शोषणको सिकार भइरहेका छन्, शारीरिक तथा मानसिक हिंसाबाट पीडित छन्, सामाजिक र सांस्कृतिक परम्पराका नाममा पछि पारिएका छन्।

नारी दिवसको सार्थकता केवल ठूला कार्यक्रममा भाषण गरेर पूरा हुँदैन। जबसम्म महिला सशक्तीकरणका नीतिहरू व्यवहारमा लागू हुँदैनन्, जबसम्म प्रत्येक श्रमिक महिलाले आफ्नो हक सुरक्षित भएको महसुस गर्दिनन्, तबसम्म नारी दिवस केवल औपचारिकता मात्र हुनेछ।

अबको आवश्यकता हो— नारी दिवसलाई तारे होटेलका सभाहलबाट निकालेर वास्तविक श्रमिक महिलासम्म पुर्याउनु। भाषण होइन, व्यवहारमा समानता लागू गर्नु। पोस्टर होइन, परिवर्तन ल्याउने योजना कार्यान्वयन गर्नु। नत्र, यो दिवस वर्षेनी आउँछ, भाषण गरिन्छ, फोटो खिचिन्छ, अनि बिर्सिन्छ। वास्तविक नारी दिवसको मर्म यही हो त ?