नयाँ दिल्ली — भारत ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि त्यो समर्थकका लागि असह्य बनेको छ । हारले पाकिस्तानविरुद्धको सम्भावित फाइनल सम्भावना सकियो । भारतको हारलाई सीएनएन न्युज १८ टीभी च्यानलले ‘लज्जास्पद’ भनेको छ
र विश्वकप इतिहासमा यति धेरै एकपक्षीय खेल अहिलेसम्म नभएको जनाएको छ ।क्रिकेट भारतमा सबैभन्दा लोकप्रिय खेल हो । कुनै समय बेलायतले भारतमा राज गरेको हुनाले इंग्ल्यान्डविरुद्धको खेल विशेष रहने गरेको छ । भारतीय राजनीतिज्ञ शशि थरुरले ट्वीट गरेका छन्, ‘मलाई भारतको हारमा आपत्ति छैन, किनभने हार र जित त खेलकै एक भाग हो । तर आज भारत जसरी हारेको छ, त्यसमा मलाई दुःख छ ।’
क्रिकेट कमेन्टेटर हर्ष भोग्लेले पनि ट्वीट गर्दै भारतीय टिमको प्रदर्शन लिग चरणमा जस्तो थियो, नकआउट चरणमा ठ्याक्कै अलग रहेको लेखेका छन् । उनले इंग्ल्यान्डको जित वास्तवमै एकपक्षीय रहेको विचार पोखेका छन् । भारतले सन् २००७ मा पहिलो संस्करणको ट्वान्टी–२० विश्वकप जितेको थियो ।
सन् २०१४ यता भारत यस प्रतियोगिताको फाइनल पुग्न सकेको छैन । सेमिफाइनल प्रवेशपछि भारतले उपाधि जित्ने सम्भावनाले समर्थक उत्साहित भएका थिए । पूर्वखेलाडी हरभजन सिंहले ट्वीट गर्दै आफ्नो मुटु छियाछिया भएको बताएका छन् । उनले भारतका वर्तमान प्रशिक्षक राहुल द्रविडलाई हटाउनुपर्ने पनि दाबी गरेका छन् ।











