सुर्खेत, २७ बैशाख । एकातिर कर्णाली नदी, अर्कोतिर रामाघाट । वर्षायाममा पानी पर्नेबित्तिकै कति बेला बाढी आउँछ, ठेगान हुँदैन । ‘बर्खा लागेपछि कर्णालीले कटान सुरु गर्छ, रामाघाटमा भेल आउँछ, खोला नै घरभित्र पस्छ,’ दैलेखको आठबीसकोट नगरपालिका–६, रामाघाटकी सुकमाया बादी भन्छिन्, ‘कहिले बाढीको डर, कहिले पहिरोको डर । पानी पर्न थालेपछि ओढ्ने, ओछ्याउने बोकेर रोडतिर जान्छौं, कहिले होटलमा बस्छौं, कहिले ओढारतिर ।’
गएको कात्तिक २ मा त्यस्तै बाढी आयो, कर्णालीमा । घरभित्रै पानी पस्यो, बस्ती डुबानमा पर्यो । मध्यराति घरभित्र बाढी पसेपछि भागाभाग मच्चियो । उनीहरूले ज्यान जोगाए तर लत्ताकपडा, अन्नपात केही बाँकी रहेन । ‘आपत् पर्दा एक थान पालसमेत कसैले दिएन, निवेदन दियौं, त्यो पनि त्यत्तिकै भयो,’ उनी भन्छिन्, ‘यहाँ नबसौं भने कहाँ जाने ? बसौं, कुन दिन बगाउने हो, थाहा छैन ।’
रामाघाट खोलापट्टि बजार छ, अनि रामाघाट बगेर कर्णाली नदीमा मिसिनेपट्टि बजारमा बादी बस्ती छ । ‘कोही बालुवा चाल्छन्, कोही माछा मारेर गुजारा गर्छन्, कोही–कोही ढुंगामाटोको काम गर्छन्,’ स्थानीय पवित्रा विकले भनिन्, ‘जग्गाजमिन छैन, खेतबारी छैन । दिनभरि काम गर्यो, साँझ–बिहान खायो । हामीलाई यस्तै दुःख छ ।’ रामाघाट पुलमुनि खोला किनारमै करिब १०० घर छन् । तीमध्ये ११ परिवार बादी छन्, अरू केही मजदुरी गरेर खाने विपन्न र दलित छन् । रामाघाटमा व्यापार गर्ने उद्देश्यले आएकाहरू बेलुका घर फर्किन्छन् तर मजदुरी गर्नेहरूको रात सन्त्रासमय छ । खोला किनारमा बसेका उनीहरूले स–साना झुप्रा बनाएका छन् । नदीले कटान गर्ने उक्त जग्गा उनीहरूको होइन ।
‘खोला किनारमा छौं, कहिले पुलिस आउँछन्, कहिले को रु सबैले सोधेर जान्छन् तर हामी २५ वर्षदेखि जहाँको त्यहीं छौं,’ उनी भन्छिन्, ‘हामीलाई न नेताले हेर्छन् न सरकारले ।’ पाँच वर्षअघिको चुनावमा घर जग्गा दिन्छौं भन्दै भोट माग्न आएका दल र तिनका नेता फेरि आइरहेका छन् तर यो बीचमा न माग्नेको माग फेरिएको छ न नेताको आश्वासन । स्थानीय अगुवा धीरेन बादी दलहरूले बादी र दलितलाई भोट बैंक मात्रै बनाउने गरेको बताउँछन् ।
‘जब चुनाव आउँछ, त्यसपछि आइपुग्छन्, गर्न नसक्ने काममा पनि आशा देखाउँछन्,’ उनी भन्छन्, ‘होला भनेर बादी र दलितको भोट उनीहरूतिर एकोहोरिन्छ तर चुनावपछि फेरि बादी र दलित बस्तीमा उनीहरूको पाइलो पर्दैन ।’ रामाघाटकै डिल्ली बादी मादल बनाउने काम गर्छन् । ‘हप्तामा एउटा मादल तयार हुन्छ तर राम्रो भाउ छैन, बजार पनि छैन,’ उनी भन्छन्, ‘घरका केटाकेटीले समेत मजदुरी नगर्ने हो भने हातमुख जोड्नै गाह्रो पर्ने अवस्था छ ।’ परम्परागत रूपमा आफ्नो कला प्रदर्शन गरेर खाने बादी समुदायको आफ्नै घरजग्गा थिएन । उनीहरू गाउँथे, नाच्थे, मागेर गुजारा चलाउँथे । ‘बादी भनेको सीप भएको जाति होइन, कला भएको हो,’ अगुवा धीरेन भन्छन्, ‘सधैं मागेर खानुहुँदैन भनेर हामीले अरू नै काम गरेर गुजारा चलाउने कोसिस गर्यौं तर यो हाम्रा लागि सहज छैन ।’
उनीहरूलाई संघीयतापछि स्थानीय सरकारले आफूहरूको मर्का सुन्ने अपेक्षा थियो तर स्थानीय सरकारले समेत उनीहरूको जीवनस्तर उकास्ने गरी कुनै प्रयास गरेको छैन । ‘संघीयता आयो, गाउँ–गाउँमा सिंहदरबार आयो भनियो तर सिंह मात्रै आएको जस्तो देखियो, हाम्रा लागि कुनै योजना छैन, बजेट दिँदैनन्,’ उनले भने । रामाघाट पारिपट्टि चामुण्डा विन्द्रासैनी नगरपालिका–७ मा बस्छन् रविलाल बादी । माछा मारेर दैनिकी गुजार्ने उनको ७ जनाको परिवार छ । ‘कहिले हुन्छ, कहिले हुँदैन, भएको बेला राम्रै पनि हुन्छ,’ उनले भने, ‘अहिले माछा मार्न दिँदैनन्, थाहा पाए लगेर थुन्ने डर हुन्छ । लुकीलुकी गर्नुपर्छ ।’
उनको सँगै सानो झुप्रो छ, गोरखाबाट यहाँ पुगेर मजदुरी गर्ने बुद्धिबहादुर गुरुङको । उनका १ छोरा र ३ छोरीसहितको परिवार यहाँ मजदुरी गरेर बसेको छ । ‘राम्रो स्कुल छैन, न स्वास्थ्य उपचारको व्यवस्था छ,’ उनले भने, ‘अन्त जाने ठाउँ नभएर यहाँ बसेका छौं । एकातिर बाढीको, अर्कोतिर भोकै मरिएला भन्ने डर ।’ कान्तिपुरबाट











