काठमाडौँ । अब स्थायी शिक्षकहरु एउटा विद्यालयमा तीन वर्ष भन्दा बढी बस्न पाउने छैनन् । बिहीबार मन्त्रिपरिषद् बैठकबाट पारित भएको शिक्षा नियमावली १० औँ संशोधन अनुसार अबदेखि तीन वर्ष पूरा भएका शिक्षकको एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा हुने भएको छ।

तर अपाङ्ग, अरूको सहायतामा हिँडडुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिला शिक्षिकाको हकमा भने यो नियम लागू नहुने नियमावलीमा उल्लेख छ।

त्यस्तै रिक्त शिक्षक पदमा सरुवा भई आउन चाहने सम्बन्धित तह र विषयका इच्छुक स्थायी शिक्षकले आफू कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमति सहित विद्युतीय माध्यम वा स्वयम् आफै उपस्थित भई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने प्रावधान राखिएको छ ।

निवेदन पेस गर्दा आफ्नो सेवा अवधि खुल्ने कागजात, शैक्षिक योग्यता र तालिमका प्रमाणपत्र, हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात, आफ्नो स्थायी तथा अस्थायी नियुक्ति पत्रको प्रतिलिपि र असाधारण तथा बेतलबी बिदा लिए नलिएको सम्बन्धी कागजात, कार्यरत विद्यालयको सहमति पत्र, स्थानीय तहको सहमति पत्र संलग्न गर्नुपर्ने छ।