काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा झन्डै तीन अर्ब रुपैयाँबराबरको सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारीसाधन खरिद शीर्षकमा दुई अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
अनुत्पादक क्षेत्रको खर्च कटौती तथा मितव्ययिता उद्घोष गरेको सरकारले सवारीसधान खरिदमा भने मनग्य बजेट विनियोजन गरेको छ । चालू आव ०८२/८३ मा समेत सरकारले सवारीसाधन खरिदमा दुई अर्ब ९९ करोड ६९ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । गत आव ०८१र८२ मा भने सरकारले यही शीर्षकमा ८२ करोड १५ लाख खर्च गरेको थियो ।
गत भदौमा भएको जेन–जी विद्रोहका क्रममा साढे चार हजार गाडीमा पूर्ण क्षति पुगेको थियो । तर, चालू आवमै सरकारले सुरुको विनियोजनको तुलनामा ४३ करोड एक लाख रुपैयाँभन्दा बढी मूल्यबराबरका सवारीसाधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ आजको नयाँ पत्रिकामा खबर छ । त्यस्तै, चालू आवमै मर्मतका लागि एक अर्ब ९९ करोड सात लाख खर्च हुने अनुमान गरिएको छ ।
जेन–जी आन्दोलनमा साढे सात अर्बको सवारी साधनमा क्षति
गत २३–२४ भदौमा भएको जेन–जी विद्रोहका क्रममा सरकारीरसार्वजनिकतर्फ १२ हजार ८२ वटा सवारीसाधन क्षतिग्रस्त भएका थियो । २३–२४ भदौ ०८२ को आन्दोलनबाट भएको मानव तथा भौतिक क्षतिको मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिका अनुसार सवारीसाधनमा मात्रै १० अर्ब ९९ करोड ३२ लाख रुपैयाँबराबरको क्षति पुगेको थियो । त्यसमध्ये नेपाल सरकारको मात्र सात अर्ब ५६ करोड ९४ लाख रुपैयाँबराबरका आठ हजार पाँच सय ३१ वटा सवारीसाधनमा क्षति पुगेको थियो ।











