काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी खरेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

नवनियुक्त मन्त्री खरेलले कर्मचारीलाई काम गर्ने क्रममा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । “देशको कर्मचारीतन्त्रलाई विश्वास गर्न चाहन्छु, यो ६ महिनामा म काममा कुनै हस्तक्षेप गर्दैन, देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला” उनले भने, “६ महिनापछि सुखद विदाई हुन पाउँ, नेपालको कर्मचारीतन्त्र खतम छ भन्ने सन्देश होइन, सक्षम छ भन्ने सन्देश लिएर जान पाउँ ।” मन्त्री खरेल इमेज टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए ।