बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताएका छन् ।

भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको बताएका हुन् ।

“संघीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको हातमा जग्गाको लालपुर्जा पुर्‍याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ । भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो । सोही अनुसार कामहरू अघि बढेका छन्”, उनले भने ।

मुख्यमन्त्री आचार्यले बर्षौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकहरूलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताउए । साथै, अव्यवस्थित वसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको उनले जानकारी दिए ।