दाङ । घोराही उपमहानगरपालिकाको वडा नंं. २ स्थित चाक्लीघाट क्षेत्रमा मोवाइल सेवा सञ्चालनको सहजताका लागि नेपाल टेलिकमको टावर सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा वडा नंं २ को झुलेडाँडामा टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
टावर सञ्चालनमा आएपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरु भएको छ। घोराही लमही सडक खण्डको बेलदमारदेखि उत्तर पूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुदा नागरिकहरुले सञ्चार सेवा उपभोग गर्न निकै समस्या भएको थियो । टावर सञ्चालनमा आएपछि अब यो समस्या हट्ने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपैयाँ लगानी गरेर झुले डाँडामा टावर स्थापना गरिएको हो । घोराही उपमहानगरपालिका २ का अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम गरी मंगलबारबाट चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले चाक्लीघाटबाट झुले डाँडामा विद्युत विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख खर्च गरेको जानकारी दिए । विकट चाक्लीघाटलाई सुगमता सँग जोडन स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताए ।
त्यसैगरी नेपाल टेलिकम काठमाडौका बरिष्ठ अधिकृत केशबराज देवकोटाले घोराही उपमहानगरपालिकाका प्रमुखले चाक्लीघाटका स्थानीयलाई सञ्चार सेवामा जोड्नका लागि केही बर्ष पहिले देखि नै गर्दै आएको र अहिले संयुक्तरुपमा काम सम्पन्न भएको बताए ।
कार्यक्रममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चाक्लीघाटमा फोन सेवा सँगै स्थानीयहरुलाई निशुल्क नमस्तेको प्रिपेड सिम वितरण गरिएको जानकारी दिए ।











