मुगु । मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्ष बित्दा पनि बन्न सकेको छैन । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन ।
जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानाको ९१ किलोमिटर सडक चरम बजेटको अभावका कारण कछुवाको गतिमा अगाडि बढेको हो । गमगढी नाकच्यालाग्ना सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ ।
सडक डिभिजन कार्यालय जुम्ला अन्तरगतका साइड इन्जिनियर वीरबहादुर जीटीका अनुसार गमगढी– नाकच्यालाग्ना सडकको गमगढी नाकच्यालाग्ना सडक परियोजना कार्यालयले ७२ सालदेखि ८० सालसम्म अनुमानित ३० करोड रकमले १९ दशमलव ५ किलोमिटर ट्र्याक खोलेको छ ।
नाकच्यालाग्ना सडक परियोजना कार्यालय जुम्लाको सडक डिभिजन कार्यालयबाट साइडको मूल्याङ्कन र सडकको स्तरोन्नति अवलोकन गर्न समयमै साइडमा आउजाउ गर्न कठिनाइ हुने गरेको छ । गमगढी– नाकच्यालाग्ना सडक छिटोछरितो मूल्याङ्कन र सडकको स्तरोन्नति अवलोकन गर्नलाई मुगुको सदरमुकाम गमगढीमा नाकच्यालाग्ना परियोजना कार्यालय नै स्थापना गर्न आवश्यक देखिन्छ साइट इन्जिनियर जीटीले बताए । थोदुङ्क्क्याराभान जेभीले मुगमकार्मारोङ गाउँपालिका छाँयालको गाँठ्या भिरसम्म सडक निर्माण गरेको छ।
सडक विस्तार गर्न र सडकको स्तरोन्नति गर्न चालु आर्थिक ८०/८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिंङ गर्न र ७ दशमलव ५ किलोमिटर ग्राबेलका साथ साइडमा नाला निर्माणका लागि छ करोड ५० लाख रकम सङ्घीय सरकारबाट विनियोजित भएको छ ।
सो सडक निर्माणले जडीबुटीदेखि नेपालमा निर्मित सामग्रीहरू चीनमा निर्यात र चीनका निर्मित लत्ताकपडादेखि त्यहाँ उत्पादित खाद्यान्नलगायत अन्य सामग्रीहरू नेपालमा आयात गर्न सहज हुनेछ ।











