काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।
मोटरसाइकलरस्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहँदैनन् ।
मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन् । सुनको यकिन परिमाण आइनसके पनि ९जोख्न बाँकी० करिब सय केजीहाराहारीमा रहेको अनुसन्धान विभागका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । यसअघि एकैपटक ८८ केजीसम्म बरामद भएको थियो ।
विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् । रामकुमार दिलीपका मामा हुन् । ‘मैले मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ उनले बयानमा भनेका छन् । मामा–भान्जा बुधबार पक्राउ परेका हुन् भने अन्य दुई मंगलबार नै पक्राउ परेका थिए ।
विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा।२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो ।
क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । नयाँ पत्रिकामा खबर छ । त्यसको तीन घन्टापछि बरामद भएको हो । रामकुमारको बयानबाट यसमा संलग्न ठूलै अर्थात् मुख्य व्यापारीसम्म पुग्न सकिने विभागका अधिकारीको भनाइ छ । ‘यसमा विगतदेखि नै सुन कारोबारमा संलग्न नाम चलेकै व्यवसायी संलग्न छन् भन्ने प्रारम्भिक बयानबाट देखिन्छ, अहिले अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न मिल्दैन,’ ती अधिकारीले भने । तिनै व्यवसायीले यसअघि पनि पटक–पटक यसरी नै सुन ल्याएको सुराकसमेत मिलेको उनको भनाइ छ ।











