दाङ । अब दाङ–काठमाण्डौ बसमा सुतेर यात्रा गर्न सकिने भएको छ । आजदेखि यो सुविधासहितको बस सञ्चालन हुने लागेका छन् । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाण्डौ रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन हुन लागेको त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर दाङले जनाएको छ ।

प्रालि तुलसीपुर दाङले पहिलो पटक भरे बेलुकादेखि यस्तो सुविधाको बस संचालन गर्न लागेको हो । साविक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । भारतबाट ल्याइएका यी बस आजदेखि नियमित रुपमा चल्ने प्रालिले जनाएको छ ।

दाङदेखि काठमाण्डौसम्म आरामदायी यात्रा गर्न सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्ने प्रालिका अध्यक्ष सुरेश हमालले बताए । बसमा भएका ४० सिटमध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने छन ।

यी सेवाका बसमा यात्रुले काठमाडौंसम्म सिटमा बसेर यात्रा गर्नका लागि यात्रुले १ हजार ८०० र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैयाँ भाडा तिनुपर्ने छ ।