घोराही । शहरी विकास तथा भवन कार्यालय दाङअन्तर्गतको घोराही बजार आसपासमा बन्दै गरेको नाला फुटपाथको काम अलपत्र पारेर ठेकेदार कम्पनी बेपत्ता भएको छ ।

घोराही उपमहानगरपालिकाअन्तर्गत घोराही बजारमा इन्टरलकिङ ब्लक÷छाप्ने ढुंगा प्रयोग गरी सडक तथा फूटपाथ निर्माण शीर्षकमा विनियोजित बजेटमा आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभीसँग भ्याटबाहेक चार करोड ८१ लाख २३ हजार सात सय दुई रुपैयाँमा सम्पन्न गर्ने सम्झौता भएको काम २०७९ साउनदेखि अलपत्र छ । न ठेक्काको म्याद थपिएको छ न ठेक्का रद्दको प्रक्रिया थालिएको छ न त काम शुरु भएको छ । घोराहीको बजार क्षेत्रमै नाला फूटपाथको काम अहिले अलपत्र बनाइएको छ ।

शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश खड्काले म्याद थपका लागि मन्त्रालयमा फाइल गएको तर म्याद थप भएको खबर नआएको बताउनुभयो । उहाँका अनुसार कार्यालय ठेक्का रद्दको प्रक्रियामा पनि गएको छैन । ‘ठेकेदारलाई पटक–पटक पत्र काटेर ताकेता गरिरहेकै छौं तर ताकेताले काम गर्ला जस्तो देखिएन’– उहाँले भन्नुभयो– ‘अघिल्लो असारदेखि अहिलेसम्म तीन÷चारपटक पत्र काटिसक्यौं ।’

शहरी विकास तथा भवन डिभिजन कार्यालयका सूचना अधिकारी खड्काले ठेक्का रद्द हुँदा पनि वर्ष दिन नाला अलपत्र हुने अवस्था आउने बताउनुभयो । ‘ठेक्का रद्द गर्न सबै प्रक्रिया पूरा गर्दा तीन÷चार महिना लाग्छ र नयाँ ठेक्का लगाउँदा पनि तीन÷चार महिना लाग्छ’– उहाँले भन्नुभयो– ‘हामी ठेक्का रद्द गर्ने मनस्थितिमा पुगिसकेका छौं अब रद्द भएपछि पनि झनै अलपत्र हुने देखिन्छ ।’ शहरी विकास तथा भवन कार्यालय दाङका इञ्जिनियर मनोज नेपालीले काम गर्ने भन्दै काम नगरेको बताउनुभयो । ‘बिहीबार कार्यालयमा आएका ठेकेदार विशाल बस्नेतले भोलिदेखि नै काम शुरु हुन्छ भनेका थिए’– नेपालीले भन्नुभयो– ‘अहिलेसम्म काम शुरु भएको छैन ।’ ठेकेदार बस्नेतसँग कुरा गर्न पटक–पटक टेलिफोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।

भत्काउने गरी पिच शुरु

बन्दै गरेको नाला फुटपाथको काम सकिएपछि सडक पिच हुनुपर्नेमा नाला नबन्दै पिच शुरु भएको छ । शहरी विकास तथा भवन कार्यालयले पुस १४ गते घोराही उपमहानगरपालिकालाई पत्र काटेर पिच गर्न अनुमति दिएको जनाएको छ । सोही अनुरूप अहिले सडकको दायाँ बायाँ पिचको कार्य शुरु भइसकेको छ । अहिले गरेको पिच फेरि नाला फूटपाथ बन्दा भत्कने निश्चित प्रायः छ । शहरी विकास तथा भवन कार्यालयले नगरपालिकामा पठाएको पत्रमा ‘पछि निर्माण कार्य गर्दा पुरानो कार्य बिग्रेमा पछि गर्ने निर्माण व्यवसायीको जिम्मेवारी हुने’– उल्लेख छ ।

पुस ८ गते घोराही उपमहानगरपालिका, शहरी विकास तथा भवन कार्यालय र भरतपुर उकालोदेखि पनौरा चोकसम्मका उपभोक्ता बीचको त्रिपक्षीय छलफलले ठेकेदारका कारण दुई वर्षदेखि धुलाम्य सडकको उपमहानगरपालिकाले पिच गर्ने र पछि नाला फूटपाथ बनाउँदा पिच भत्के बिग्रेको खण्डमा शहरी विकास तथा भवन कार्यालयले पूर्ण क्षतिको जिम्मेवारी लिने सहमति भएको थियो । नाला फूटपाथ बनाउँदा पिच भत्कने अवस्था देख्दा देख्दै भत्के बिग्रेमा पूर्ण क्षतिको जिम्मेवारी लिन तयार भई हस्ताक्षर गर्ने शहरी विकास तथा भवन कार्यालय दाङका निमित्त प्रमुख अनन्त देवले काम अलपत्र पार्ने ठेकेदारलाई कारवाही भने गर्न सक्नुभएको छैन ।

घोराही उपमहानगरपालिकाले सडक विभागदेखि पनौरासम्म करिब १३ सय मिटर पिच गर्न शुरु गरेको छ । भिंग्रेलीचोकदेखि सडक विभागसम्मको भागमा टेण्डर गर्न ५० लाख रुपैयाँ बजेट छ । भिंग्रेलीचोकदेखि भरतपुर क्याम्पसको तल्लो प्वाइन्टको काम शुरु भइसकेको छ । उपमहानगरपालिकाले ठेकेदारलाई माघ १५ सम्म सम्पर्कमा आएर काम गर्न शुरु गरेमा नाला बनेपछि पिच गर्ने जनाएको थियो ।

नियमावलीको आडमा नियम मिच्दै

खरिद नियमावलीको १२ औं संशोधनका कारण ठेक्का रद्दको प्रक्रियामा जान नसकेको बताउने शहरी विकास तथा भवन कार्यालय दाङले सार्वजनिक खरिद नियमावलीको प्रावधान नै मिचेको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२० को उपनियम (४) ले सबै प्रक्रिया पुगेर निर्माण म्याद थप अथवा ठेक्का रद्दको निर्णय निर्माण कम्पनीको तर्फबाट निवेदन प्राप्त भएको ३० दिन भित्र कार्यालयले निर्णय लिइसक्नुपर्ने व्यवस्था छ तर साउनदेखि अहिलेसम्म निर्णय भएको छैन । तोकिएको समयभित्र म्याद थप सम्बन्धी निर्णय नगर्ने पदाधिकारी वा कर्मचारीलाई तालुक निकायले प्रचलित कानुनबमोजिम विभागीय कारवाही गर्ने व्यवस्था पनि छ ।

शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश खड्काले मन्त्रालयमा फाइल गएको र म्याद थपबारे जानकारी नभएको बताउनुहुन्छ । ‘म्याद थप भएको भए रिपोर्ट आउँथ्यो होला आएको छैन’– उहाँले भन्नुभयो– ‘ठेक्का रद्दको प्रक्रियामा पनि गएको छैन । सार्वजनिक खरिद नियमावलीको संशोधनले म्याद थप गर्ने अवसर दिएपछि २०७८ साउन ८ गते निर्माण कम्पनीका प्रतिनिधिले कार्यालयमा उपस्थित भएर २०७९ फागुन २५ गतेभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि फागुन २९ गतेसम्मका लागि म्याद थप गर्न मंसिर १९ गते प्रदेश मन्त्रालयमा पत्र पठाइएको थियो । २०७९ असार २० गतेको सार्वजनिक खरिद नियमावली २०६४ को १२ औं संशोधनलाई आधार बनाएर कार्यालयले न निर्माण कम्पनीलाई कारवाहीको प्रक्रियामा लगेको छ न त म्याद थपेको छ ।

जमानत र धरौटी मात्रै झण्डै ६० लाख

उक्त ठेक्कामा आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभीको कार्यसम्पादन जमानत ४१ लाख ३० हजार र धरौटी १७ लाख छ हजार एक सय ७४ रुपैयाँ रहेको छ । घोराही बजारको तुलसीपुरचोक (भानु चोक) देखि गुलरिया चोकसम्म, नेपाल बैंक लिमिटेड अगाडिदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन कार्यालयसम्म र सडक विभाग अगाडिबाट धारापानी जाने रोडको भरतपुर क्याम्पसको अन्तिम बिन्दुसम्म नाला र फूटपाथ बनाउन ठेक्का सम्झौता भएको थियो । ठेकेदारले काम नगर्दा उक्त नाला फूटपाथ बनाउन छुट्याएको दुई करोड बजेट गत वर्ष फ्रिज भएको थियो ।

हालसम्म ठेकेदारले तीन करोड ८५ लाख ५९ हजार पाँ‘च सय ७५ रुपैयाँ लगिसकेका छन् । नाला फूटपाथको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७० दशमलव ९१ प्रतिशत भएको भनिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । तुलसीपुर चोकदेखि गुलरिया चोकसम्मको सम्पन्न भयो भनिएको काममा पुरानैलाई कायम गरी कतै नाला नै बनेको छैन भने कतै फूटपाथ भत्कन शुरु गरेको छ । सडकको पानी नालामा जाने निकास अझै बनाइएको छैन । अझै सहिदगेटदेखि अदालतसम्म, महेन्द्र बहुमुखी क्याम्पस भरतपुर अगाडि र बुद्ध हस्पिटल अगाडिको उकालोमा नाला र फूटपाथको काम बाँकी छ । यता आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभीले विशाल बस्नेतलाई पेटी ठेकेदारको रुपमा काम लगाएको बताइएको छ ।नयाँ युगबोध राष्ट्रिय दैनिकबाट साभार