काठमाडौं, १ कार्तिक । संस्कृतिविद् एवं शताव्दी व्यक्ति सत्यमोहन जोशीको निधनमा सरकारले आज शोक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति निकालेर आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको उल्लेख छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा अस्ति आइतवार बिहान निधन भएको थियो । सरकारले अस्ति राष्ट्रिय सम्मानका साथ जोशीको बिदाइ गरेको थियो । जोशीको शव अध्ययनका लागि किस्ट मेडिकल कलेज ललितपुरलाई उपलब्ध गराइएको छ ।