इन्द्रेणी संवाददाता
गुण्डा नाइके हुँदै माननीय बनेका राजीव गुरुङउर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने लगभग पक्का भएको छ । हिमाली जिल्ला मनाङको प्रदेशसभा (ख) बाट उम्मेद्वारी दिएका मनाङे निर्विरोध निर्वाचित हुने भएका हुन् । प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् ।
उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालय मनाङमा निवेदन दिएका छन् । उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।
गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए ।
निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेसँगै मनाङे निर्विरोध निर्वाचित हुने छन् ।











