देश श्रीलंकाको बाटोमा लागेको भन्दै आलोचना भइरहेका वेला सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ११ महिनाको तथ्यांकले आर्थिक तथा वित्तीय स्थितिमा सुधारको संकेत गरेको छ । रित्तिँदै गइरहेको विदेशी मुद्राको सञ्चिति जेठमा केही बढेको छ । त्यस्तै, शोधनान्तर घाटामा पनि थोरै सुधार आएको छ ।

विश्वव्यापी महँगी र घट्दो रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति ६.५७ महिनाको मात्रै आयात धान्ने अवस्थामा पुगिसकेको थियो । जेठमा थपिएको विदेशी मुद्राले सञ्चिति पर्याप्तता बढाएर ६.७३ महिना पुर्‍याएको छ । जेठमा १७ करोड अमेरिकी डलर थपिएर सञ्चिति नौ अर्ब ४५ करोड पुगेको छ । वैशाखमा नौ अर्ब २८ करोड डलर सञ्चिति थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिन थालेको बताए । यद्यपि, सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । ‘सबै विषय नकारात्मक मात्रै छैनन्, सकारात्मक संकेतहरू देखिएका छन् । तर, हामी सतर्क भने हुनुपर्छ,’ उनले भने ।

नेपालमा विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो । चालू आर्थिक वर्षको वैशाखसम्म अघिल्लो वर्षको तुलनामा लगातार घटिरहेको रेमिट्यान्स पनि जेठमा केही बढेको छ । कोरोना महामारीको असर कम भएसँगै श्रम गन्तव्य मुलुकहरूले नेपाली कामदार लैजाने क्रम बढेपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको देखिन्छ । राष्ट्र बैंकका अनुसार जेठमा ७५ करोड डलर रेमिट्यान्स भित्रिएको छ । वैशाखमा ७१ करोड भित्रिएको थियो । यो आवमा सबैभन्दा कम गत माघमा ६० करोड डलर मात्रै रेमिट्यान्स आएको थियो ।

विदेशी मुद्राको अर्को स्रोत पर्यटन क्षेत्रमा पनि सुधार आउन थालेको संकेत देखिएको छ । जुन महिनामा ४६ हजार नौ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अप्रिलमा ५८ हजार तीन सय ४८ पर्यटक आगमन भएको थियो । पछिल्लो सात महिनामा सबैभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । पर्यटकीय गन्तव्य मुलुकमा अझै प्रतिबन्ध छ । छिमेकी देश भएकाले भारतीय पर्यटक सजिलै नेपाल घुम्न आइरहेका छन् ।

सञ्चितिमा परेको चापले बढ्दै गइरहेको शोधनान्तर घाटामा पनि जेठमा कमी आएको छ । जेठ मसान्तसम्म शोधनान्तर घाटा दुई सय ६९ अर्ब ८१ करोड रहेको राष्ट्र बैंकको तथ्यांक छ । वैशाखमा यस्तो घाटा दुई सय ८८ अर्ब पाँच करोड थियो । यो बर्खायाममा नेपालले भारतलाई झन्डै दुई अर्बको बिजुली निर्यात गरेको छ । सञ्चितिमा यसको अंश थोरै भए पनि यसलाई सकारात्मक सुरुवातको रूपमा हेरिएको छ । त्यस्तै, केही उद्योगले सिमेन्टको पनि निर्यात थालिसकेका छन् ।

वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्नुका साथै रेमिट्यान्समा समेत वृद्धि देखिए पनि बैंकिङ च्यानलमा नआउने समस्या भने बढ्दो छ । विगतमा हुन्डीको समस्याबाट त्राण नपाइसकेको अवस्थामा क्रिप्टोकरेन्सी, अनलाइन गेमिङजस्ता नयाँ प्रविधिबाट रेमिट्यान्स कारोबार भइरहेको छ । यस्तो रकमलाई औपचारिक माध्यममा ल्याउनसके विदेशी मुद्राको ठूलो खाडल पूर्ति हुने व्यवसायीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘नेपाली श्रम स्वीकृति लिएर विदेश जाने क्रम बढेको छ । यो सकारात्मक सूचक हो । हामीकहाँ विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स नै हो । तर, रेमिट्यान्सलाई बैंकिङ च्यानलमा ल्याउनुपर्ने चुनौती उत्तिकै छ ।’

गत आर्थिक वर्षमा कोरोनाका कारण रोजगारीको खोजीमा बिदेसिने नेपालीको संख्या शून्यजस्तै थियो । कोरोनाको त्रासले कतार, मलेसियालगायतका श्रम गन्तव्य मुलुकले नाका बन्द राखेपछि धेरैले विदेश जान पाएनन् । छुट्टीमा घर फर्किएका श्रमिक पनि स्वदेशमै बेरोजगार बस्न बाध्य भए । कोरोनाका कारण दुई वर्षदेखि ठप्प रहेको मलेसियाले पाँच महिनाअघि नै कामदार लिन सुरु गरिसकेको छ, त्यो पनि आप्रवासी कामदारको पारिश्रमिक बढाएर । त्यस्तै, कतार, संयुक्त अरब इमिरेट्सले पनि कामदार लैजान थालेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ महिनामा तीन लाखभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या पनि दुई लाख ५९ हजार ९१ पुगेको छ ।

कोरोनापछि नेपालजस्ता गरिब देशको अर्थव्यवस्था तंग्रिने प्रयासमा रहँदै गर्दा दुई ठूला शक्तिराष्ट्र रुस र युक्रेनको युद्धले फेरि चुनौती सिर्जना गर्‍यो । स्टिल, इन्धन, खाद्यान्नलगायत वस्तुको भाउ अकासियो । आयातमा निर्भर नेपालले महँगो आयात गर्नुको विकल्प रहेन । विदेशी मुद्राको ढुकुटी खस्किँदै गइरहेको थियो, भएको सञ्चिति पनि महँगो सामान आयातमा खर्च हुन थाल्यो । रुस र युक्रेनको युद्ध पनि मत्थर बन्दै गइरहेकाले त्यसको प्रभाव इन्धनको कच्चा तेलको मूल्यमा देखिन थालेको थियो । अहिले विश्वबजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय डलरसम्म पुगेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार अहिले खानेतेल सस्तिएर विश्वभर खाद्यान्नको मूल्य घट्दै गइरहेको छ । गत मेमा विश्व खाद्य मूल्य सूचकांक अघिल्लो महिनाको तुलनामा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो महिना यो गिरावट ०.८ प्रतिशत थियो । यो सूचकांक मासु, दुग्ध उत्पादन, अन्न, खानेतेल र चिनीको औसत मूल्य परिवर्तनको समष्टि हो ।

विनिमय सञ्चितिले थेग्नै नसक्ने अवस्था आएपछि सरकारले गत चैतबाट विलासिताका वस्तु आयातमा प्रतिबन्ध नै लगाउनुपर्‍यो । यस्तो प्रतिबन्धले परिमाणमा कटौती भए पनि आयातबापतको मूल्यमा भने कमी आउन सकेको छैन । जेठमा भएको वस्तु आयातमा एक खर्ब ५८ अर्बबराबरको रकम बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

कोरोनाकालमा ठूला राष्ट्रहरूले पनि आर्थिक संकट सामना गर्नुपर्दा बहुपक्षीय दातृ संस्थाहरूले सहयोगमा कटौती गरेका थिए । नेपालमा त झन् अमेरिकी सहायता परियोजना एमसिसी अनुमोदनको किचलोले वैदेशिक सहायता आउनै बन्दजस्तै थियो । संसद्बाट एमसिसी अनुमोदन भएपछि विश्व बैंक र एसियाली विकास बैंकले पनि सहायता बढाउँदै गइरहेका छन् । अमेरिकाले एमसिसीलगत्तै युएसएआइडीको सहायतालाई निरन्तरता दिने निर्णय गरिसकेको छ । वैदेशिक सहायता बढेर घाटाको बजेट पूर्ति मात्रै भएको छैन, यसले विदेशी मुद्राको सञ्चितिलाई ठूलो गुन लगाइरहेको छ ।

११ महिनामा भित्रियो सात अर्ब ५१ करोड डलर रेमिट्यान्स
यो ११ महिनामा रेमिट्यान्स आय ३.८ प्रतिशतले बढेर सात अर्ब ५१ करोड डलर भित्रिएको छ । वैशाखमा रेमिट्यान्स आयमा ०.२ प्रतिशतको वृद्धिदर थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड डलर पुगेको छ ।

जेठमा ३५ हजार ६९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तो स्वीकृति लिने नेपालीको संख्या तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

जेठ महिनामा २८ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यससँगै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा दुई लाख ५९ हजार ९१ पुगेको छ । जुन गएको वर्षको सोही अवधिको तुलनामा १८५.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

सेवा खाताअन्तर्गत जेठ महिनासम्ममा भ्रमण आय २८१.३ प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ६९ करोड रहेको थियो । यद्यपि, यस अवधिमा नेपालले सेवा खातामा ९९ अर्ब ९३ करोड घाटा व्यहोरेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । जुन वैशाख महिनाको तुलनामा १८ अर्ब ६९ करोडले कमी हो । अमेरिकी डलरमा शोधनान्तर स्थिति दुई अर्ब २६ करोडले घाटामा रहेको छ । जुन वैशाखको तुलनामा १५ करोड डलरले कमी हो ।

जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । जुन वैशाख महिनासम्मको तुलनामा २९ अर्ब ९६ करोडले बढी हो । अमेरिकी डलरमा सञ्चिति जेठ मसान्तमा नौ अर्ब ४५ करोड कायम भएको छ । जुन वैशाख महिनाको तुलनामा १७ करोड डलरले बढी हो ।

मूल्यवृद्धि भने ६ वर्षयताकै उच्च
अर्थतन्त्रका अन्य सूचकमा सुधारको संकेत देखिए पनि मूल्यवृद्धि भने उच्चदरमा बढेको छ । जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ, जुन ६ वर्षयताकै उच्च हो । यसअघि ०७३ भदौमा मूल्यवृद्धि ७.९ प्रतिशत थियो । त्यसयता मूल्यवृद्धि लक्ष्को सीमाभित्रै रहँदै आएको थियो । अघिल्लो वर्षको जेठमा मुद्रास्फीति ४.१९ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य निर्धारण गरेको छ । तर, बाह्य तथा आन्तरिक कारण मूल्यवृद्धि लक्ष्यभन्दा बढी भएको हो । राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी पहाडी क्षेत्रमा ९.२८ प्रतिशत मूल्यवृद्धि छ । हिमाली क्षेत्रमा ८.९२ प्रतिशत, राजधानी काठमाडौंमा ८.३२ प्रतिशत र तराईमा ८.२९ प्रतिशत मूल्यवृद्धि छ ।


पवन तिमिल्सिना / नयाँ पत्रीकाबाट साभार