रुकुम, ३० जेठ । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका केही बस्तीमा खानेपानीको अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ ।
जिल्लामा विद्युत् सेवा अनियमित भएकाले यस वडाको लुफासा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसक्दा समस्या आएको हो । हावाहुरी र वर्षा हुनेबित्तिकै जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन्छ । विद्युत्कै कारण यहाँका नागरिक पानीको समस्यासँग पनि जुध्न बाध्य छन् । ६ नं वडाको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका १८६ घरधुरीका नागरिक पानीको अभावले समस्या खेपिरहेका छन् ।
धारामा पानी नझर्दा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने–५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताए । धारामा पानी नझरेपछि लुस्फा धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । छिप्रीदहमै होटेल गर्दै आएका गोपालप्रसाद सुनारले दैनिक २०र२५ मिनेट धाराबाट पानी झर्ने गरेको बताउँदै त्यो पानीले भाँडा धुन, चर्पीमा प्रयोग गर्न र खाना पकाउन नपुग्दा सास्ती खेप्नुपरेको गुनासो गरे ।
छिप्रीदहमै मेडिकल गर्दै आएका प्रकाश नेपालीले पनि पानी अभावको कारण उपचारसँगै अन्य सरसफाइको काममा कठिनाइ हुने बताए । उनले अहिले मोटरसाइकलमा लुस्पाबाट पानी बोकेर प्रयोग गर्दै आएको बताए । हिमशिखा बोर्डिङ स्कुलका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले पानी अभावको कारण विद्यालयका शिक्षक, बालबालिकालाई चर्पी प्रयोग गर्न समस्या भएको बताए । उनका अनुसार त्यहाँका विद्यार्थीले अहिले पिउने पानी घरबाटै बोतलमा भरेर ल्याउने गरेका छन् भने चर्पीका लागि बाहिर जानुपर्ने बाध्यता छ ।











