चितवन, १९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जबाट आजदेखि बाघ गणना सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ ।

सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु हुनेछ ।

बाघ गणनाका क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिन्छ । क्यामरा पार गरेर बाघ गए आफैँ फोटो खिचिन्छ । क्यामरामा कैद भएका बाघको तस्बिर हेरेर त्यो क्षेत्रमा कति बाघ छन् भनेर थाहा हुने छ ।

गणनामा प्रयोग हुने क्यामरा विशेष खालको हुने र अनुसन्धानात्मक कामबाहेक अन्यत्र प्रयोग गर्न मिल्दैन । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २ सय ५० को हाराहारी पुर्याउने घोषणा गरेको छ । नेपालमा अहिले २ सय ३५ वटा बाघ छन् ।