इन्द्रेणी संवाददाता
चितवन, १० मंसिर । संघीय संसदमा पहिलो सक्तिका रुपमा रहेको नेकपा एमालेको १० औं महाधिवेशन आउज हुँदैछ । चिवतनमा हुन लागेको महाधिवेशनका लागि नारायणी नदी किनारालाई सजिसजावट गरिएको छ ।
महाधिवेशनमा सहभागी हुन देशभरका अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट ¥यालीसहित नारायणी किनारमा बनाइएको कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायत स्थानबाट भव्य ¥याली निकाल्ने तयारी छ ।
महाधिवेशनलाई मध्यनजर गर्दै चितवनको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सुरक्षाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संख्यासमेत बढाइएको छ । जिल्ला प्रहरी र केन्द्रबाट एआइजी सहकुल थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि एआइजीकै नेतृत्वमा सुरक्षा अधिकारीहरू चितवनमा खटिएको केन्द्रीय महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । नयाँ नेतृत्व र पार्टीको आगामी कार्यदिशाका लागि हुन लागेको महाधिवेशन मंसिर १२ गते सम्पन्न हुनेछ । महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उतारर्ने तयारी गरेको छ ।
अतिथि को–को आउँदैछन् ?
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य सातवटा पार्टीका प्रमुख नेताहरू आउने निश्चित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यक्रममा सभागी हुने छैनन् । उनले पार्टीका अरू नै नेतालाई पठाउने भने पनि को आउने भन्ने निश्चित भएको छैन । त्यसबाहेक जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् ।











