काठमाडौँ, ८ असोज । सुशासनको नारा दिन प्रतिस्पर्धा गर्ने देशका राजनीतिक दल कति पारदर्शी छन् भन्ने उनीहरूको लेखापरीक्षणबाटै प्रस्ट हुन्छ ।
गत संसदीय चुनावमा एकै उम्मेदवारले १० करोडसम्म खर्च गरे, तर मुख्य दलले भने देशैभरको चुनावमा जम्माजम्मी ८३ लाखदेखि चार करोडसम्म खर्च गरेको विवरण निर्वाचन आयोगलाई दिएका छन् । चन्दा विवरण पनि त्यस्तै अपत्यारिलो रूपमा प्रस्तुत गरिएको छ, जसलाई आयोगले सदरसमेत गरेको छ ।
आव ०७४/७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार चुनावमा सबैभन्दा बढी खर्च गर्ने दल कांग्रेस हो, उसले प्रदेश र प्रतिनिधिसभा चुनावमा जम्मा ४ करोड ८६ लाख ६६ हजार खर्च गरेको छ । त्यस्तै एमालेले २ करोड ९१ लाख ६९ हजारमात्रै खर्च गरेको विवरण दिएका छन् ।
अझ माओवादी केन्द्रले त जम्मा ८३ लाख ४० हजारमा चुनाव सकेको दलको केन्द्रीय कार्यालयले जनाएको छ कान्तिपुरमा खबर छ। माओवादीले खर्च र आम्दानीको लेखापरीक्षण नै बुझाएको छैन । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेमकिपा र जनमोर्चाले पनि लेखापरीक्षण नै बुझाएका छैनन् ।











