काठमाडौं, १९ जेठ । काठमाण्डौको पुरानो नैकापमा माटोको ढिस्कोले पुर्दा दुई जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
चन्द्रागिरी नगरपालिका १३ कङ्कालिनी मन्दिर नजिकै प्लटिङ गरिएको जग्गामा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा काम गर्दै गरेका दुई जनाको ज्यान गएको महानगरीय प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरूमा उदयपुरको बेलका नगरपालिका ८ घर भएकी सीता राई र मकवानपुरको राङसिराङ गाउँपालिका ९ घर भएका टेकबहादुर चेपाङ रहेका छन् । उदयपुर कटारीका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिकाका हरि घले घाइते भएका छन् ।











