काठमाडौँ, १३ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ ।

cholendraप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको हो । उक्त आदेशसँगै प्रतिनिधिसभा विघटनविरुद्धका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुनेछ ।

मन्त्रीपरिषदको सिफारिसमा जेठ ७ गतेको निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (६) बमोजिम प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै रिट दर्ता गराएका छन् ।