केशरमान बुढाथोकी
बिगत लामो समय देखि विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको दाङ घोराही स्थित मितेरी अस्पतालले कोरोनाका बिरामीहरुको उपचार सुरु गरेको छ ।
यस अगाडी दाङमा सरकारी अस्पतालहरुमा मात्र कोरोनाका बिरामीहरुको उपचार गर्ने गरे पनि प्राइभेट अस्पतालले पहिलोपटक कोरोना अस्पताल स्थापना गरेको अस्पतालका संचालक महाबिर जिसीले बताए ।

हाल अस्पतालमा कोरोनाका बिरामीहरु राखेर उपचार प्रारम्भ गरिसकेको उनको भनाई थियो । अस्पतालको सम्पूर्ण काम सकिएर बिरामी भर्ना लिन सुरु गरिएको अस्पताल संचालक जिसीले जानकारी दिए ।

तत्कालका लागि १५ बेड रहेको अस्पतालले बिरामी भर्ना सुर गरे संगै आज जेठ १३  गते साँझ सम्म आठ जना कोरोना संक्रमित बिरामीहरु भर्ना भैसकेका छन् । भर्ना भएका बिरामीलाई अक्सिजन सहितको व्यावस्था रहेको छ ।

उक्त अस्पतालमा बिरामीको उपचारका लागि मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मी २४ घण्टा नै रहनेछन भने दुइ  जना बिशेषज्ञले पनि बिरामीको उपचार गर्ने छन् ।

अस्पतालमा तत्काल आइसीयु, भेन्टिलेटर नभएकाले जटिल प्रकिृतिका बिरामीको भने यहाँ भर्ना लिइने छैन ।