काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन् । हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन् ।

‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो मलाई लागेको थियो । त्यसकारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव देखियो,’ प्रधानमन्त्री ओलीले शनिबार साँझ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भनेका छन् ।

– ‘भाइरसमा बोसिय, फ्याटिय तत्व हुन्छ, तातोपानी अथवा मनतातोपानीले धोएपछि समाप्त हुन्छ ।’

– ‘कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने  हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।’

– ‘कोरोना भाइरस नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्छ, केही गरी घाँटीमा पुगिहाल्यो भने खाकखुक गर्नुपर्छ, खोकेर फाल्नुपर्छ ।’

– ‘हाम्रो भान्सामा बेसार, लसुन, प्याज र टिमुर हुन्छ, त्यसले प्रतिरोधी क्षमता बलियो बनाउँछ, कोरोनाले हामीलाई केही गर्दैन ।’

– ‘नेपालीको प्रतिरोधी क्षमता बलियो छ भनेर कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो ।’

– ‘हावापानीले पनि हाम्रो क्षमता बलियो बनाएको छ । मरूभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ ।’

– ‘अन्य बिमारीका जटिलताले केही मान्छेको निधन भएको छ, तर विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कोरोनाले भएको भन्ने मान्नुपर्ने अवस्था छ ।’

– ‘नेपालमा कोभिड यस रूपमा बढ्छ भन्ने लागेकै थिएन, त्यसैले सरकारका थुप्रै कामहरूमा समन्वयको अभाव देखियो ।’

कोभिड महामारीको दोस्रो लहर भयावह भएको एक महिनापछि मात्र उनले शनिबार सरोकारवालासँग छलफल गरे । यसअघि भने उनी धार्मिक जमघट र राजनीतिक भेटघाटमा व्यस्त थिए ।

कोभिड महामारीले संसार थला परेको वेला हाम्रा प्रधानमन्त्रीले ‘खाकखुक खोकेर थुकेपछि कोरोना–सोरोना भाग्ने’ दाबी गर्दै आएका थिए । नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले कोरोनाले केही नगर्ने भन्दै उनले संसद्मै भाषण गरेका थिए नयाँ पत्रिकामा खबर छ। कोरोनाबारे पहिलोपटक संसद्मा ६ जेठ ०७७ मा गैरजिम्मेवार टिप्पणी गरेदेखि दर्जनौँपटक उस्तै गैरजिम्मेवार दाबी दोहो¥याउँदै आएका प्रधानमन्त्रीले एक वर्षपछि मात्र कोरोनालाई गम्भीर मानेका छन् । तर, यो ३६२ दिनको बीचमा देशमा ठूलो मानवीय क्षति भएको छ, साथै कोरोना अझै अनियन्त्रित छ ।