काठमाडौँ, ३० बैशाख । आफ्नो पक्षमा वहुमत नपुग्ने भएपछि कांग्रेस र माओवादी नयाँ सरकार गठनका लागि दावी पेश नगर्ने भएका छन् । राजपाको महन्त ठाकुर पक्षले सरकार गठनमा साथ नदिएपछि एमाले माधवकुमार नेपाल पक्षसँग नजिकिएका कांग्रेस र माओवादीले नेपाल समूहले पनि साथ नदिने सुनिश्चित भएपछि वहुमतको सरकार गठनमा दावी नगर्ने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनमा असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय आज राति ९ बजे सकिदैछ । ओली र नेपाल बीच आज भएको छलफल विवाद समाधानतर्फ उन्मुख भएपछि नेपाल समूहका सांसदको राजीनामा टरेको छ । योसँगै काग्रेस र माओवादीको वहुमतको सरकार गठनको विकल्प पनि सकिएको छ ।
विपक्षी गठबन्धनले सरकार गठनको दावी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् । जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दावी पेश गर्ने सम्भावना छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नेछन् ।











