काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवाशचन्द्र नेम्वाङसहित सात जनालाई कारबाही गरेको छ ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान विपरीत अनुशासनको उल्लंघन गरेको भन्दै स्थायी कमिटी सदस्य तथा संसद दलको उपनेता सुवाशचन्द्र नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको हो ।
नेकपा स्थायी कमिटी सदस्य भिम रावलका अनुसार नेम्वाङलाई संसदीय दलको उपनेताबाट तुरुन्त राजीनामा दिनको लागि निर्देशन गरिएको पनि बताए । त्यस्तै नेकपाका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले जनतामा भ्रम सिर्जना गर्ने गरी गलत सूचना प्रवाह गरेकाले केन्द्रीय कमिटीको सदस्यबाट निस्काशन गर्ने र प्रतिनिधि सभाको सदस्यको जिम्मेवारी पार्टी विधान अनुरुप निर्वाह गर्न र पार्टी विरोधी गतिविधि नगर्न निर्देशन गरेको छ ।
पार्टी अनुशासनको उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटी सदस्यहरु प्रभु शाह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सूर्य थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ ।











