इन्द्रेणी संवाददाता
काठमाडौं, ५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद समाधान गर्नेका लागि आज बैठक बोलाइएको हो ।
बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरी रहेका छन् तर पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कमै छ ।
हिजो शनिवार दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त भए । प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले आफूविश्रद्ध ल्याइएको प्रस्ताव फिर्ता लिन आग्रह गरे । तर प्रचण्डले भने प्रस्ताव फिर्ता लिन अस्वीकार गर्दै स्थायी कमिटीमै छलफल गर्ने अडान लिए ।
अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । तर, दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताएका छन्।











