इन्द्रेणी संवाददाता
बाँके, २९ भदौ । बाँकेमा सोमबार मात्रै ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । खजुरा गाउँपालिका वडा नं. ५ का ३ बर्षका बालकसहित ४० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो । उनीसँगै डिस्चार्ज हुनेमा ७ र ९ बर्षिया बालिका पनि रहेका छन् । सोमवार डिस्चार्ज भएको ४० जनासहित बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या हजार भन्दा बढी पुगेको छ ।
जिल्लामा हालसम्म एक हजार ४४० जना संक्रमित फेला परेकोमा ८ जनाको मृत्यु भएको छ भने ३९६ जना अझै विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।











