काठमाडौं, १० पुस ।आज बिहीबार बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।
नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करीब १०.०० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ ।
खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने÷नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । सर्यग्रहण लाग्ने भएपछि दाङका अधिकांश शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।











