सल्यान, ६ माघ । सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानीय तह बनेको छ ।
आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषिसंग सम्बन्धीत मोवायल एप्स अन्य निकायले ल्याएको भएपनि स्थानीय तहहरु मध्ये नेपालमै पहिलो पटक कपुरकोट गाउँपालिकाले यस प्रकारको एप्स बनाएर सार्वजनीक गरेको दाबी गरे ।
‘कृषि कपुरकोट’ नामक मोवायल एप्लीकेशन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारी प्राप्त गर्न सक्ने छन् । किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा मार्फत घरमै बसि बसि विविध जानकारि लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।











