काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्वाराही र पेरिसडाँडास्थित रहेको दुवै पार्टी कार्यालयको कार्य सञ्चालनका लागि भिडियो कन्फरेन्सको व्यवस्था गर्न लागेको छ ।
नेकपाको दुवैतिर हुने काम कारवाहीको जानकारी दिनका लागि भिडियो कन्फरेन्सयुक्त प्रविधि जडान गर्न लागिएको हो । एउटा कार्यालयमा भएको बैठक र त्यसको निर्णय दुवै कार्यालयबाट सार्वजनिक हुने व्यवस्थाका लागि यो प्रविधि जडान गर्न लागेको हो ।
यसअघि धुम्वाराहीमा नेकपा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको पार्टी कार्यालय सञ्चालनमा थिए । पार्टी एकीकरण भएर नेकपा बनेपछि पनि दुवैतिरको पार्टी कार्यालय यथावत राख्ने निर्णय भएको हो ।
एउटा कार्यालयमा हुने गतिविधि वा बैठक अर्को कार्यालयमा रिले गर्न वा जानकारी गराउन त्यही भिडियो कन्फरेन्सको माध्यबाट जानकारी गराउने कार्यालय व्यवस्थापन समितिका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य गोपालकृष्ण श्रेष्ठ बताए ।
‘कन्फरेन्सका लागि चाहिने प्रविधि जडान गर्ने निर्णय भएको छ । त्यसको तयारी भइरहेको छ’, उनले भने । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यालय दुवैतिर रहने गरी त्यसको व्यवस्थापन दुवैतिर भइसकेको छ ।











