दाङ, २६ वैशाख । राप्ती नदीले छाडेको बगरमा अहिले लटरम्म तरकारी र फलफूल फलेको छ । केही वर्ष पहिले ढुङगा, गिट्टी र बालुवाले भरिएको बगर अहिले तरकारीले ढाकेको छ । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाको राप्तीले बनाएको बगरमा आठ वर्षयता व्यावसायिक तरकारी खेती हुँदै आएको छ ।
राप्तीको खेर गइरहेको जग्गालाई प्रयोगमा ल्याउने उद्देश्यसाथ लमहीको उद्यमशील बहुउद्देश्यीय सहकारी संस्थाको पहलमा देउखुरीका दुई हजार आठ जना किसानलाई तरकारी खेतीमा संलग्न गराइएको छ । दैनिक मजदुरी गर्ने र निर्वाहमुखी खेतीमा लागेकालाई समूह गठन गरेर तरकारी खेतीतर्फ आकर्षित गराएको हो । देउखुरीका लमही नगरपालिका,राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा एक सयवटा समूह बनाएर व्यावसायिक तरकारी खेतीमा सहयोग गरिएको उद्यमशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिली खनालले जानकारी दिए ।
सहकारीको पहललाई जर्मन आर्थिक विकास कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय, दाङ उद्योग वाणिज्य सङ्घले सघाएपछि अहिले व्यावसायिक तरकारी खेतीका लागि गठन भएका समूहमा आबद्ध किसानले सिजनमा कम्तीमा पाँच लाख मूल्य बराबरको तरकारी बेच्ने गरेका छन् । लमही–६ बलरामपुरकी सेवापति चौधरीले छ कट्ठामा करेला, पाँच कट्ठामा भिन्डी, पाँच कट्ठामा भान्टा, तीन कट्ठामा बोडी, चार कट्ठामा लौका, तीन कट्ठामा लौका र पाँच कट्ठामा खरभुजा लगाएका छन् ।
परिवारका सदस्यको राम्रो साथ पाएको बताउने सेवापतिले एक सिजनमा पाँच लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताए । गोरखापत्रमा खबर छ सहकारीबाट मल, बीउ अनुदानमा पाउँछौँ, खेर गएको बगरमा तरकारी फलाएर बेचम्ला भन्ने नै थिएन । गरेपछि हुने रहेछ, उनले भने ।
बलरामपुर र सेमरहवाको सिङ्गो गाउँ नै तरकारी खेतीमा संलग्न छ । सोही ठाउँका रामजिउन चौधरीले पनि करिबदुई बिघा राप्तीको बगरमा तरकारी खेती गरेका छन् । सबैभन्दा कम लागानी र मिहिनेत खरभुजामा लाग्ने भएकोले आफूले धेरै खरभुजा लगाएको रामजिउनले बताउनुभयो । धेरै मिहिनेत पनि गर्न पर्दैन, मूल्य पनि राम्रो हुन्छ, उनले भने ।
सिजनमा छ लाख रुपियाँसम्म आम्दानी गर्ने बताउने उनले सहकारीको सहयोगले बगरमा तरकारी फलाउन सफल भएको बताए । सेमरहवा र बलरामपुरको तरकारी अहिले लमही बजार मात्रै नभएर अन्य जिल्लामा निकासी हुने गरेको छ । बिहान बजारको एक ठाउँमा केन्द्रित गरेर बेच्ने दिउँसोको समयमा बारीमा झुप्रो बनाएर बिक्री केन्द्र बनाएका छन् ।
तरकारी व्यवसायीहरू किसानकै खेतबारीमा तरकारी किन्न पुग्छन् । किन्न त खेतबारीमै आउँछन् । बजारमै आफै लगियो भन्ने महँगो पर्छ, गणेश चौधरीले भने । तरकारीका लागि बजारको अभाव नभएको भन्दै किसानहरूले समय समयमा हुने बन्द हड्तालका कारण तरकारी खपत नभएर खेतबारीमा कुहिँदा भने ज्यादै दुःख लाग्ने बताउँछन् ।
उद्यमशील सहकारीबाट बीउ, मल, प्राविधिक सहयोग पाएको बताउने किसानहरू तरकारी खेतीबाट सन्तुष्ट छन् । देउखुरीको बलरामपुर, सेमरहवा, मध्यनगरलगायतको स्थानमा खरभुजा राम्रो उत्पादन भएकोले यसपालि किसानको बजारीकरणका लागि आफूहरूले विशेष पहल थालेको सहकारीका व्यवस्थापक विजय अधिकारीले जानकारी दिएका छन् ।











