Indrenionline.com

कृत्रिम जलाशय आम्दानीको स्रोत बन्दै

दाङ । दाङको घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय किसानका लागि सिँचाइको भरपर्दो स्रोतसँगै स्थानीय तहको आम्दानीको माध्यम बनेका छन् । उपमहानगरपालिकाले दुई वटा जलाशय ठेक्कामा लगाएपछि किसानले सिँचाइ सुविधा पाउनुका साथै पालिकाले ती जलाशयबाट वार्षिक औसत १४ लाख ५८ हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेको छ ।

घोराही उपमहानगरपालिकाले निर्माण गरेका ४३ वटा कृत्रिम जलाशयमध्ये घोराही–२, सुर्केडाँगीस्थित चेपे जलाशय र घोराही–१७ स्थित गुलरिया जलाशयलाई विद्युतीय बोलपत्र (ई बिडिङ) मार्फत ठेक्कामा दिएको हो । जलाशयको पानी किसानका खेतमा सिँचाइका लागि प्रयोग गर्ने तथा जलाशयमा माछापालन गरी व्यवसाय सञ्चालन गर्ने गरी सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका सबइन्जिनियर मधुसूदन खतिवडाका अनुसार चेपे जलाशय १० वर्षका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित ८७ लाख ८४ हजार १२३ रुपैयाँ ५३ पैसामा ठेक्कामा गएको छ । यसबाट पालिकाले वार्षिक औसत आठ लाख ७८ हजार ४१२ रुपैयाँ ३५ पैसा आम्दानी गर्दै आएको छ ।

त्यस्तै गुलरिया जलाशय १० वर्षका लागि भ्याटसहित ५७ लाख ९९ हजार १३२ रुपैयाँ ७३ पैसामा ठेक्कामा गएको छ । यसबाट वार्षिक औसत पाँच लाख ७९ हजार ९१३ रुपैयाँ २७ पैसा आम्दानी हुने गरेको सबइन्जिनियर खतिवडाले बताए। दुवै जलाशयबाट पालिकाले वार्षिक औसत १४ लाख ५८ हजार ३२५ रुपैयाँ ६२ पैसा आम्दानी गर्ने गरेको उनले बताए ।

घोराही उपमहानगरपालिकाले किसानलाई सिँचाइमा सहयोग पुर्‍याउने उद्देश्यले सिमसार क्षेत्रको उपयोग गरी ४३ वटा कृत्रिम जलाशय निर्माण भएका छन् ।