Indrenionline.com

कृषिलाई प्रवर्धन गर्न किसानलाई १०० मिनी ट्रिलर

दाङ । कृषि यान्त्रीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङ तुलसीपुर उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर वितरण गरेको छ । उपमहानगरपालिकाले १०० ओटा मिनी ट्रिलर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको हो ।

उपमहानगरभित्र कृषि फर्म दर्ता गरेका, कृषि समूह तथा सहकारीमा आबद्ध किसानमध्ये छनोट गरिएका कृषकलाई मिनी ट्रिलर वितरण गरिएको हो । वितरण कार्यक्रममा तुलसीपुरका प्रमुख टीकाराम खड्काले अनुदानमा प्राप्त कृषि उपकरणको सदुपयोग गरी उत्पादन र आम्दानी बढाउन किसानलाई आग्रह गरेका थिए ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलले किसानलाई मिनी ट्रिलरका लागि उपमहानगरपालिकाले ६० लाख बजेट विनियोजन गरेको र ठेक्का प्रक्रियामार्फत ५३ लाखमा खरिद गरेर वितरण गरेको जानकारी दिए । मिनी ट्रिलरका लागि प्रत्येक किसानले करिब २६ हजार पाँचसय र बाँकी २६ हजार पाँचसय रकम उपमहानगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो ।