Indrenionline.com

लरेना बासुदेव मन्दिर परिसरमा लायन्स प्रतिक्षालय

दाङ । सामाजिक सेवाका विविध गतिविधिमार्फत समुदायमा सकारात्मक योगदान पु¥याउँदै आएको लायन्स क्लब नारायणपुरले घोराही उपमहानगरपालिका–९ स्थित लरेना बासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतिक्षालय निर्माण गरेको छ । मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतिक्षालयको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्सकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । लरेना बासुदेव मन्दिर परिसर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ । यहाँ दैनिक रूपमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको आवागमन हुने गरेको छ । मन्दिर नजिकै रहेको पिकनिक स्थलमा समेत मानिसहरूको चहलपहल रहने भएकाले बस्ने तथा विश्राम गर्ने उपयुक्त स्थानको आवश्यकता महसुस गरेर प्रतिक्षालय निर्माण गरिएको अध्यष पोखरेलले बताए । उनका अनुसार लायन्स क्लब नारायणपुरले करिब ६० हजार रुपैयाँ खर्च गरेर प्रतिक्षालय निर्माण गरेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर श्रेष्ठले लायन्स क्लबले सञ्चालन गर्ने सामाजिक सेवामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताए । उनले विश्वभर रहेका विभिन्न सामाजिक संस्थाहरूमध्ये लायन्स क्लब सबैभन्दा ठूलो सेवामूलक संस्था भएको उल्लेख गर्दै मानव सेवाका कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

गभर्नर श्रेष्ठले चालु वर्षमा डिष्ट्रिक्ट ३२५ एन अन्तर्गत सञ्चालन गरिएका सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूको जानकारी गराउँदै समुदायको आवश्यकता अनुसार सेवा विस्तार गर्नुपर्ने बताए
कार्यक्रममा घोराही उपमहानगरपालिका–९ का वडा अध्यक्ष चैतुकुमार चौधरीले लरेना क्षेत्रको विकासका लागि लायन्स क्लबले गरेको सहयोग महत्वपूर्ण भएको बताए

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले लरेना, त्रिवेणी धाम तथा बराह क्षेत्रको संरक्षण, विकास र प्रचारप्रसारका लागि सरकारी तथा गैरसरकारी निकायहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले धार्मिक सम्पदाको उचित व्यवस्थापन र पूर्वाधार विकासमार्फत दाङलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ एनका सिनियर एक्जुकेटिभ चिफ लव अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, लरेना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाल, एरिया चिफ मधुसूदन वैद्य, जोन चेयरपर्सन शरद अधिकारी, क्लबका पूर्व अध्यक्षहरू अभियान बस्नेत र अनिल बस्नेत, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, माध्यमिक विद्यालय खैराकी सहायक प्रधानाध्यापक श्यामा रावत थापा तथा संयुक्त क्लबका अध्यक्ष मोहन आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

देउखुरीका दुई क्लवलाई चार्टर्ड पेपर हस्तान्तरण
यसैबीच सोही अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले देउखुरी क्षेत्रमा स्थापना भएका दुई नयाँ लायन्स क्लबलाई चार्टर्ड पेपर हस्तान्तरण गर्नुभएको छ । लायन्स इन्टरनेशनलबाट प्राप्त चार्टर्ड सर्टिफिकेट, पिन तथा अन्य आधिकारिक सामग्री नयाँ क्लबहरूलाई प्रदान गरिएको हो ।

लायन्स क्लब राप्ती क्यापिटलका अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न चार्टर्ड हस्तान्तरण कार्यक्रममा लायन्स क्लब लमहीका अध्यक्ष हल्लुप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सिनियर एक्जुकेटिभ चिफ लव अधिकारी, एरिया चिफ मधुसूदन वैद्य तथा जोन चेयरपर्सन सहाना श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ क्लबहरूको सफल कार्यकालको कामना गरे ।