Indrenionline.com

भयो लमही “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका”

लमही । दाङको लमही नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा भएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्‍याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

घोषणाको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्त्वपूर्ण अभियान भएको बताए ।

लमही नगरपालिकाको १ देखि ९ नम्बर वडालाई पूर्णखोप सुनिश्चितता वडा प्रमाणपत्र प्रदान गरिएको छ । लमही नगरपालिकाले चालु आर्थिक वर्षमा ४ हजार ९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेकोमा ३ हजार ६ सय ६० जना बालबालिकालाई घरभेट कार्यक्रममार्फत खोप लगाइएको तथ्यांक छ ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको बताए ।