दाङ । माघ (माघी) आउन अझै करिब दुई हप्ता भए पनि थारू बस्तीहरूमा भने यस पर्वको चहलपहल सुरु भइसकेको छ । घरआँगनको सरसफाइदेखि माघका लागि जङ्गलबाट दाउरा र पात ल्याउने, तरुल र गैजी खोज्ने, तेल पेलाउने तथा मघौटा नाचका लागि आवश्यक सामग्री जुटाउने गतिविधिले थारू बस्तीहरू यतिबेला उत्सवमय देखिन थालेका छन् । त्यस्तै गाउँदेखि शहरसम्म धमाधम माघ साँस्कृतिक महोत्सव आयोजना हुँदैछन् ।
थारू समुदायले माघलाई आफ्नो महान पर्व तथा नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । विशेष गरेर पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा एक साताभन्दा बढी गाउँमा नाचगान गरेर थारू समुदायले माघ मनाउने गर्दछन् । वर्षमा एक पटक मात्र आउने यो पर्व विशेष महत्वको हुने भएकाले रोजगारी तथा अन्य कामको सिलसिलामा बाहिर गएकाहरू पनि माघ मनाउन गाउँ अर्थात घर फर्किने गर्छन् । यही क्रममा वैदेशिक रोजगारीका लागि दुबई, कतार, मलेसिया, कोरिया लगायतका देशमा रहेका थारू युवाहरू पनि स्वदेश फर्किन थालेका छन् ।
घोराही उपमहानगरपालिका १७, गुलरियाका हरि चौधरी माघ मनाउनकै लागि कोरियाबाट हालै गाउँ फर्किनुभएको छ । “हरेक वर्ष माघ मनाउन घर आउँछु,” उनले भने, “यसपटक पुस १३ गते घर आइपुगेँ, माघ मनाएर माघको पहिलो सातातिर फेरि कोरिया फर्किन्छु ।”
त्यस्तै, सोही क्षेत्रका रामबहादुर चौधरी पनि पनि माघ मनाउन दुबईबाट गाउँ फर्किएको बताउनुभयो । अघिपछि सुनसान देखिने थारू बस्तीहरू माघको समयमा भने निकै चहलपहल हुन्छन् सन्तोष दहितले गोरखापत्रमा लेखेका छन्। माघको अवसरमा पुराना दुःखकष्ट बिर्सने, नयाँ कामको सुरुवात गर्ने र आपसी सदभाव, मेलमिलाप बढाउने परम्परा रहेको घोराही १७, गुलरियाका रामप्रसाद चौधरीले बताए ।
उनका अनुसार माघको दिन बिहानै स्नान गरी घरको बैठक कोठामा चामल, मास र नुनको निस्राउ निकाल्ने, आफन्तजनसँग भेटघाट गर्ने, ठुलाबाट आशीर्वाद लिने तथा मीठो–मीठो परिकार खाने चलन छ ।
माघमा विशेष खानपान, नाचगान र गाउँको मटावाँ चयनजस्ता महत्त्वपूर्ण कामहरू गरिन्छ । विशेषगरी थारु समुदायले माघम ढिक्री, घोंघी, माछा, सुँगुरको मासु लगायतका परम्परागत परिकारहरू बनाएर खाने गर्दछन् । यस्तै खानपानसँगै गाउँमा मघौटा नाच, सांस्कृतिक कार्यक्रम तथा सामूहिक रूपमा घरघरमा गएर माघ मनाउने चलन पनि रहँदै आएको उनले बताए ।
त्यस्तै माघको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक तथा सामुदायिक निर्णय हो । घोराही उपमहानगरपालिका १० का मटावाँ चन्द्रप्रसाद चौधरीका अनुसार माघी डेवानीमार्फत गाउँका नयाँ मटावाँ चयन गर्ने वा पुरानाको अवधि थप्ने, बितेको वर्षको समीक्षा गर्ने र आगामी वर्षको कार्ययोजना बनाउने गरिन्छ । माघ नजिकिँदै जाँदा थारू बस्तीहरूमा देखिएको उत्साह र उमंगले यस पर्वको सांस्कृतिक तथा सामाजिक महत्वलाई झनै उजागर गरेको थारु अगुवा भुवन चौधरी बताए ।
