Indrenionline.com

चौथो प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता घोराहीमा शुरु

दाङ । प्याब्सन घोराही नगर कमिटीको आयोजनामा घोराहीमा चौथो संस्करणको प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता २०८२ शुरु भएको छ । प्रतियोगिताको आज घोराही १८ स्थित नवलपुर खेलमैदानमा उद्घाटन गरिएको छ ।

प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेयले गरेका थिए । प्रतियोगितामा यहाँका करिव ५८ निजी विद्यालयले भाग लिएको आयोजकले जनाएको छ । खेलकुद प्रतियोगिता मंसिर २७ गतेसम्म चल्ने छ ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, प्याब्सन दाङका सल्लाहकार बिरेन्द्र चन्द, घोराही उपमहानगरपालिका १८ का वडाध्यक्ष भरतमणि अर्याल, घोराही नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनलगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

प्याब्सन घोराही नगर कमिटी उपाध्यक्ष तथा खेलकुद संयोजक मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन प्याब्सन घोराही नगरका सचिव बिलम भण्डारी गरेका थिए । उद्घाटन कार्यक्रम अघि विभिन्न निजी विद्यालयको सहभागितामा झाँकी र बाजागाजा सहितको र्याली गरिएको थियो ।