इन्द्रेणी संवाददाता
घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
महासंघ दाङका अध्यक्ष शन्तोष सुवेदीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष बिपुल पोखरेलको प्रमुख आतिथ्यतामा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि पोख्रेलले प्रविधि पत्रकारिताको सहयोगी भएको भन्दै यसलाई सकारात्मक किसिमले प्रयोग गर्न सकिए हामीले गर्ने काममा सहजता प्रदान गर्ने बताए । एआई पनि एउटा प्रविधि भएकाले हामीले यसलाई सकारात्मक ढंगबाट प्रयोग गर्न सकेमा पत्रकारिता क्षेत्रमा सहयागी हुने उनको भनाइ थियो । प्रविधि जहिले पनि मानव नियन्त्रित हुने भएकाले यसलाई कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा आफूमा भर पर्ने पनि उनले बताए । उनले पत्रकारहरूले प्रविधि र नैतिकता दुवै सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी, कार्यक्रमका नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीले पनि एआईका प्रयोगमा सावधानी, पत्रकारको नैतिकता र तथ्यपरकता जोगाउनुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको सह–सञ्चालन महासंघ दाङका सह–सचिव प्रकाश चौधरीले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष ओपेन्द्र बस्नेतले गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यमका सम्पादक, रिपोर्टर र पत्रकारहरूको उपस्थिति थियो ।