Indrenionline.com

शिक्षकमाथि खुँडा प्रहार गर्ने विद्यार्थी पक्राउ

दाङ। दाङमा प्रहरीले शिक्षकलाई खुँडा प्रहार गरेर फरार भएका विद्यार्थीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहागनरपालिका–६ रजौरास्थित हिमाल एकाडेमीमा शिक्षकमाथि खुँडा प्रहार गरेर फरार रहेका कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश विकलाई पक्राउ गरेको हो ।

उनले वैशाख १९ गते शुक्रबार बिहान सवा ९ बजेतिर विद्यालयमै शिक्षक बिशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारपछि फरार रहँदै आएका बिकलाई प्रहरीले शनिबार राति पौने ९ बजेतिर तुलसीपुर–४ को हलवारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाह जानकारी दिएका छन्।

पक्राउ परेका विद्यार्थीले फागु पूर्णिमाको दिनमा शिक्षक श्रेष्ठले आँफुमाथि बिद्यालयमै कुटपिट गरेको र त्यो कुटपिटपछि आफूले एउटा कान सुन्न छोडेको हुँदा त्यसको बदला लिन खुँडा प्रहार गरेको प्रहरीमा प्रारम्भिक बयान दिएका छन् ।

प्लस टु संयोजक समेत रहेका शिक्षक श्रेष्ठमाथि धारिलो हतियार खुँडा प्रहार गर्दा कुम, दुबै हात लगायत शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।