इन्द्रेणी संवाददाता
दाङ । ‘हाम्रो दाङ, हाम्रो जिम्मेवारी अभियान’ दाङले घोराही उपमहानगरपालिका परिषरमा शान्तिपूर्ण धर्ना शुरु गरेको छ ।
उपमहानगरपालिकाले उपमहानगरपालिकाको विकट क्षेत्रमा १३७ प्रतिशत सम्म जग्गाको पोत(कर) बृद्धि गरेको, व्यवसायिक करमा अस्वभाविक बृद्धि र जनतालाई असहज बनाउने गरी फोहोर व्यवस्थापन निजीकरण गर्नेलगायतका निर्णयको विरुद्ध धर्ना शुरु गरेको हो । आज मंगलबार विहान ११ बजेबाट धर्ना शुरु गरिएको हो । धर्ना ३ बजेसम्म हुने बताइएको छ ।
उपमहानगरपालिका पछिल्लो चरणमा जग्गाको पोतमा मनमानी तरिकाले कर बृद्धि गरेको जनगुनासो आएको छ । त्यस्तै उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा आफूलाई घाटा लागेको भन्दै निजी कम्पनी सगरमाथा मल्टी सर्भिसेज देव सरसफाई सेजा जेभि काठमाडौंलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ ।
उपमहानगरपालिकाले ३ वर्षका लागि सो कम्पनीलाई जनताको करबाट खरिद गरिएका उपमहानगरपालिकाका फोहोर उठाउने सरकारी सेतो नम्बर प्लेटका गाडी समेत कम्पनीलाई भाडामा दिएर फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिएको छ ।